काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अन्तरविरोध बढिरहेको बेला चिनिया राजदूतको सक्रियतालाई लिएर विभिन्न टिका टिप्पणी शुरु भएको छ । सत्तारुढ दलभित्र आन्तरिक विवाद चर्केका बेला चिनिया राजदूतले भेटघाट शुरु गरेपछि विवाद मिलाउन राजदूतको अस्वाभाविक दौडधुप चलेको भन्दै उनको आलोचना समेत शुरु भएको छ ।
प्रमुख प्रतिपक्षी दलका विद्यार्थी संगठनले त सडकमा प्रर्दशन समेत गरेको छ । प्रधानमन्त्री एवं पार्टीअध्यक्ष केपी ओलीको कार्यशैलीलाई लिएर तीव्र विवाद भइरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले भेटघाटलाई तीव्र बनाएपछि टिका टिप्पणी शुरु भएको हो । आइतबार साँझ नेकपाका नेता माधवकुमार नेपालसँग भेट गरेकी राजदूत याङछीले मंगलबार वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट गरेकी छिन्। पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँगै नेता खनाल र नेपालले प्रधानमन्त्री र अध्यक्ष पदबाट ओलीलाई राजीनामा दिन दबाब दिइरहेका छन् । पार्टी विवाद उत्कर्षमा पुगेर फुटको सँघारमा पुगिरहेका बेला उनले असन्तुष्ट दुई शीर्ष नेतासँग भेट गरेकी हुन् । यसअघि पनि गत वैशाखमा नेकपाको विवाद चुलिँदै जाँदा उनले भेटघाटलाई तीव्र बनाएकी थिइन् । उनले वैशाख १९ अध्यक्ष दाहाल र नेता नेपाल तथा वैशाख १८ गते प्रधानमन्त्री ओली र त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी थिइन्। उनले नेताहरूसँग भेटघाट तीव्र बनाएसँगै तत्कालका लागि नेकपाभित्रको विवाद मत्थर भएको थियो । अहिले पनि चिनियाँ राजदूतको सक्रियतासँगै नेकपाभित्रको विवाद तत्काललाई थामिने कतिपयको अनुमान छ ।
चीनले देखिने गरेर कसैको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप नगर्ने विगतको परिपाटीका कारण चीनले शान्त कूटनीतिलाई अवलम्बन गर्दै आएको विश्वास गरिन्थ्यो । तर, पछिल्लो समय भने चीनले महसुस हुने गरेर आफ्नो सक्रियता बढाइरहेको छ । असार १४ मा मदन भण्डारीको ६९औं जन्मजयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि भारत आफूलाई हटाउन लागिपरेको अभिव्यक्ति दिएका थिए । त्यसलगत्तै बसेको स्थायी समिति बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले राजीनामा भारतले मागेको नभई आफूले मागेको बताएका थिए। त्यसयता दाहालसहित नेताहरू माधव नेपाल, झलनाथ खनाललगायतले प्रधानमन्त्रीको राजीनामालाई मुख्य अजेन्डा बनाइरहेका बेला आइतबार साँझ चिनियाँ राजदूत होउ याङ्छीले नेता नेपाललाई भेटेकी थिइन । उनको भेटलाई लिएर परराष्ट्रविदहरु अस्वाभाविकताको संकेत गरेका छन् । नेपालको आन्तरिक राजनीतिमा विदेशीको यो सक्रियताको आलोचनासमेत भएको छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्विट गर्दै भनेका छन्, ‘हामी हाम्रो मुलुकमा हुने आन्तरिक राजनीतिक गतिशिलता र घटना आज पनि वैदेशिक शक्तिबाट निर्देशित हुन्छन् भन्ने षडयन्त्रको सिद्धान्तलाई खण्डन गर्छाैं । सार्वभौम मुलुकका रूपमा नेपाल आफैं निर्णय गर्न सक्षम छ, हामी आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रवृत्ति अस्वीकार गर्छौं ।’ चिनियाँ राजदूतले नेता नेपाललाई भेटेको विषय सार्वजनिक भएसँगै पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेकपा सचिवालय सदस्य श्रेष्ठले यस्तो ट्विट गरेका हुन ।




