काठमाडौं । नेपाल प्रहरीमा नयाँ महानीरिक्षक (आइजीपी) नियुक्ति हुन अब दुई दिन बाँकी छ । प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवाली असार २५ गते अनिवार्य अवकाशमा जाने भएकाले उनको स्थानमा नयाँ महानीरिक्षक नियुक्त हुन दुई दिन बाँकी रहेको हो ।
प्रधानमन्त्री कार्यालययदेखि गृहमन्त्रालयसम्म नयाँ आइजीपीको बारेमा सोधखोज शुरु भैसकेको छ । यसपटक एआईजी शैलेश थापा क्षेत्री र हरि पालमध्ये एकजना आईजीपी हुने निश्चित भएपनि उनीहरु मध्ये को हुन्छन भन्ने बारेमा भने अहिलेसम्म कौतुहलता नै छ । आजै बस्ने मन्त्रीपरिषदले नयाँ आइजीपी नियुक्त गर्न सक्ने भएपनि के हुन्छ भन्ने बारेमा सबैतिर अन्यौल छाएको छ । उपेन्द्रकान्त अर्याल अवकाश पाएपछि डिआइजीबाट आईजीपी बन्दै आएका थिए । वर्तमान आईजीपी ज्ञवाली पनि डीआईजीबाटै नियुक्त भएका हुन् । नेपाल प्रहरीमा थापा र पालसँगै एआईजी तारणीप्रसाद लम्साल पनि छन् । तर उनी वर्तमान आईजीपी ज्ञवालीका ब्याजी भएकाले त्यसैदिन अनिवार्य अवकाश पाउनेछन् । अहिले भएका थापा र पाल मात्रै आईजीपीका दाबेदार भएकाले उनीहरुबीच नै आइजीपीको लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । पाल र थापा दुवै ०४९ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट सेवा प्रवेश गरेका हुन् । प्रहरीभित्र दुवै व्यावसायिक अधिकृत मानिन्छन् । आईजीपी नियुक्ति सरकारले गर्ने भएकाले प्रधानमन्त्री वा गृहमन्त्रीसँग नजिक भएका व्यक्ति वा उनीहरुले रुचाएका अधिकृत मात्रै आइजीपी हुनेछन् । प्रहरी नियमावलीमै सरकारले उपयुक्त लागेको जुनसुकै व्यक्तिलाई एआइजी वा डिआइजी मध्येबाट आईजीपी बनाउन सक्ने उल्लेख भएका कारण दुई मध्ये एक जना हुने अवस्था आएको हो ।
आइजीपी नियुक्तको बारेमा प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयले कसलाई बनाउने भन्ने बारेमा छलफल अघि बढाएपनि को हुन्छन भन्ने विषयमा निक्र्योल गरिसकेको छैन । प्रधानमन्त्री, सत्तारूढ दलको अध्यक्ष, गृहमन्त्री प्रतिपक्षी दलको समेत चासो रहने गर्छ । अहिले एकै पार्टीको नेतृत्वमा सरकार रहेकाले प्रधानमन्त्रीले रोजेको व्यक्ति नै आईजीपी हुने संभावना बलियो रहेको छ । प्रतिस्पर्धा रहेका थापा र पाल विगतमा विवादमा तानिएका छैनन् । थापाले हालसम्म झापा, कास्की, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, प्रहरी प्रवक्तालगायत कमान्ड सम्हालेका छन् । हाल उनी मानव स्रोत एवं प्रशासन विभागको प्रमुख छन् । पालले कास्की, रूपन्देही, धनुषा, नुवाकोट, डडेलधुरा, प्रदेश २ र विशेष ब्युरोलगायत महत्वपूर्ण स्थानको जिम्मेवारी निर्वाह गरेका छन् । हाल उनी अपराध अनुसन्धान तथा कार्य विभागको प्रमुख छन् । दुवै प्रहरी अधिकृतहरु विवादमा नतानिएका कारण अहिले दुवैको उस्तै उस्तै अवस्थामा रहेका छन् । ‘उहाहरुमध्ये जो भएपनि प्रहरी संगठनको नेतृत्व गर्न सक्नुहुन्छ त्यसकारण यो वा त्यो भन्ने विवादित धारणा प्रहरीभित्र छैन’, प्रहरी प्रधानकार्यालयका एक अधिकारीले भने । उनका अनुसार यसअघि आईजीपी नियुक्तिमा दाबेदारबीच व्यापक दौडधूप देखिए पनि यसपटक त्यस्तो देखिएको छैन दुवै जना आफ्नो तरिकाले काम गरिरहेका छन् ।
यसअघि सर्वेन्द्र खनाल आईजीपी भएपछि उनकै ब्याजी रमेश खरेलले पदबाट राजीनामा दिएका थिए । त्यसयता आईजीपी सर्वेन्द्र खनाल र एआईजी पुष्कर कार्कीबीच राम्रो सम्बन्ध नरहेको चर्चा हुँदै आएको थियो । त्यसअघि नवराज सिलवाल र जयबहादुर चन्द मध्ये को आइजीपी हुने भन्ने लडाइले प्रहरी संगठनमा चेनअफ कमाण्ड नै विग्रेको थियो । अहिले भने थापा र पालले यसलाई इगोको विषय नबाउने भन्दै उनीहरु आफ्नो लविङमा लागेका छन् ।




