काठमाडौं । फूटको संघारमा पुगेको नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल बिना निष्कर्ष सकिएको छ । आइतबार आन्तरिक विवाद मिलाउन बालुवाटारमा ओली र ‘प्रचण्ड’ बीच भएको छलफलमा विवादित विषयमा कुराकानी भएपनि कुनै सहमति नभएको छलफलमा सहभागी एक नेताले बताए । सोमबार ११ बजे बस्ने स्थायी समिति बैठक अघि नै दुवै अध्यक्षबीच छलफल हुने गरी आजको बैठक टुंगिएको छ ।
विवादको भूमरीमा फसेको नेकपाका दुई अध्यक्ष बीचको दरार बढिरहेको बेला छलफल र भेटघाटलाई तिब्रता दिए पनि परिणाम भने आउने छाटकाट छैन । ढेड घण्टा चलेको छलफलमा राष्ट्रपतिलाई महाअभियोग लगाउने सड्यन्त्र भइरहेको भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्ति प्रति समेत छलफल भएको स्रोतले बताएको छ । सोमबारको स्थायी कमिटि बैठकमा दुवै अध्यक्ष सहभागी हुने विषयमा पनि छलफल भएको बुझिएको छ ।
छलफलमा अध्यक्षद्वयका साथ सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनसमेत सहभागी हुनुभएको स्रोतले जनाएको छ ।
यसअघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपाका अध्यक्ष दाहाल तथा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले भेटवार्ता गरेका थिए । नेकपामा विवाद बढेपछि यही असार १८ गतेको पार्टीको स्थायी कमिटीको बैठकले शीर्ष तहमा अनौपचारिक छलफलका लागि केही दिन बैठक स्थगन गरी असार २१ गतेका लागि तोकेको थियो । अध्यक्षद्वयबीच असार १९ गते भएको छलफल सकारात्मक भए पनि निष्कर्ष ननिस्केकाले आज पुनः छलफल भएको हो ।
यही असार १० गतेदेखि चालू स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेताहरू भित्रभित्र लागेको भनी प्रधानमन्त्री ओलीले दिएको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदन परेको विषयले प्रवेश पाएपछि नेताहरुबीचको दूरी बढेको हो । यी नयाँ विषयले पूर्वानिर्धारित कार्यसूची प्रभावित हुँदै आएका छन । साथै यही असार १८ गते सरकारले सङ्घीय संसद्को बजेट अधिवेशन अन्त्य गराएको विषय पनि नेकपामा विवादित बनेको छ ।




