ताजा समाचार

प्रधानमन्त्री ओली आफू निकटका नेताहरुसँग निरन्तर छलफलमा, आइपरे पार्टी कार्यालय कब्जा गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ बालुवाटार बोलाएर मन्त्री र राज्यमन्त्रीहरुलाई जे ब्रिफिङ गरे त्यसले पार्टी करिब करिब फूटको संघारमा पुगेको छ भन्ने आँकलन गर्न कठिन छैन। उनले आफुविरुद्ध षडयन्त्र भइरहेकाले अब पार्टी विभाजन समेत हुनसक्ने संकेत दिए । आफुलाई साथ नदिने मन्त्रीहरु कित्ता क्लियर हुन भन्दै अप्रत्यक्ष रुपमा राजिनामा लागि दबाब दिएपछि प्रचण्ड खेमाका मन्त्रीहरु नैतिक संकटमा परेपछि अहिले मन्त्रीहरु के गर्ने कि नगर्ने भन्ने सोचमा छन् ।

ओलीले यतिमात्रै गरेका छैनन उनले तल्लोतहमा ओर्लेर आफू निकटका केही युवा विद्यार्थीहरुलाई पार्टी कार्यालय कब्जा गर्न समेत निर्देशन दिएको थाह पाएपछि भने नेताहरु निकै सशंकित भएका छन् । प्रधानमन्त्री ओलीले आफु र राष्ट्रपतिविरुद्ध पार्टीमा षडयन्त्र भइरहेको उनको भनाई थियो । ओलीले आफूविरुद्ध षड्यन्त्र भएको भन्दै पार्टी नरहन सक्ने बताएका थिए । त्यसपछि केही मन्त्रीहरु राजिनामा दिने तयारीमा रहँदा ओलीले पार्टी कार्यालय कब्जाको रणनीतिमा लाग्न निर्देशन दिएका कारण उनीहरु थप अलमलमा रहेका छन् । राजीनामाका लागि मन्त्रीहरुले अध्यक्ष प्रचण्ड र माधव नेपालको निर्देशन कुरिरहेका छन् । ओलीले आफूलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने र राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउने तयारीको सूचना आफूले पाएको दाबीसमेत गरेका थिए । उनले राष्ट्रियता र पार्टी एकता दुवै संकटमा परेको भन्दै आफूले अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्नेसमेत बताएका थिए ।

नेकपाभित्रको शक्ति–संघर्षले पार्टीभित्र विभाजनसम्मको खतरा देखिएपछि शनिबार मन्त्री, राज्यमन्त्री र आफ्नो सल्लाहकार टिमसहितको विस्तारित बैठक राखेर पार्टीभित्रको संकटबारे ब्रिफिङ गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएपछि भने पार्टी गम्भीर संकटमा परेको महशुस नेकपा कार्यकर्ताले गरेका छन् । पूर्व माओवादी खेमा मन्त्रीहरुले राजीनामाको तयारी गरेका हुन । गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री बिना मगरले राजीनामाबारे छलफल थालेका हुन् । उनीहरु प्रधानमन्त्री हटाउने भेलामा समेत सहभागी भएका थिए । उद्योगमन्त्री लेखराज भट्ट भने प्रधानमन्त्री ओलीको पक्षमा छन् । दाहालले दुई मध्ये एक पद छाड्न गरिएको आग्रहमा पनि ओली सहमत नभएको र आफ्नै हठमा कायमै रहेका कारण शनिवार बैठक बस्नुअघि दाहालले कुराकानी गरेपछि ओलीले साँझ मन्त्रीहरुसँग छलफल थालेका थिए ।

प्रधानमन्त्री ओलीले निरन्तर आफूपक्षका नेता कार्यकर्तालाई बोलाएर निरन्तर छलफल गरिरहेका छन् । मन्त्रीहरुसँगको छलफलमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर भएर नेकपा गठन भएपछि अहिले उत्पन्न संटक सबैभन्दा जटिल भन्दै प्रधानमन्त्री ओलीले पार्टी गम्भीर मोडमा पुगेको समेत बताएका थिए। बैठकमा प्रधामन्त्री ओलीले विदेशीको इशारामा आफूलाई हटाउने कोशिश भइरहेको उल्लेख गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध महाअभियोग लगाउने षड्यन्त्र भइरहेको बताएका थिए।

सरकारका कदमलाई राष्ट्रपतिले सहयोग गरेपछि राष्ट्रपति विरुद्ध नै महाअभियोग लगाउने षड्यन्त्र भइरहेको सूचना आफूलाई प्राप्त भएको प्रधानमन्त्रीले जनाएका थिए। राष्ट्रपति भण्डारी र प्रधानन्त्री ओलीबीच राम्रो राजनीतिक सम्मबन्ध छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *