काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट (नेकपा)को आन्तरिक विवाद चर्किदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरलाई वालुवाटारमा बोलाएर अप्रिय निर्णय लिन सक्ने संकेत गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार साँझ मन्त्रीहरुलाई वालुवाटार बोलाएर छलफल गर्दै आफूले दुवै पद नछाड्ने बरु अप्रिय निर्णय गर्न सक्ने संकेत गरेका हुन् । शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलबाट कुनै निष्कर्ष ननिस्केपछि दुवै पक्षले आफ्नो आफ्नो तयारी भने जारी राखेका छन् । शनिवार विहान दुई अध्यक्षबीच भएको टेलिफोन कुराकानीपछि स्थायी कमिटी बैठक स्थगित गरेर दुवै पक्षले आफ्नो आफ्नो तयारी थालेपछि साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु र राज्यमन्त्रीहरुलाई वालुवाटारमा बोलाएर आफ्ना कुरा राखेका थिए । दुवै पक्षले आफ्ना समूहका नेताहरुसँग छलफल गरिरहेका बेला ओलीले साँझ मन्त्रीहरुलाई बोलाएर पार्टी एकता संकटमा रहेको बताएका थिए । ‘म विरुद्ध मात्र होइन राष्ट्रपति विरुद्ध महाअभियोग लगाउने सम्मको सूचना आएको छ जसले लोकतन्त्रलाई नै खतरामा लैजादै छ म चाहन्छु पार्टीभित्र विश्वासको वातावरण बनोस अप्रिय निर्णय गर्न नपरोस’, प्रधानमन्त्रीको भनाई उद्यृत गर्दै एक मन्त्रीले भने । उनका अनुसार प्रधानमन्त्री ओलीले आफूलाई विभिन्न बहानाबाजी गरेर हटाउन पार्टीका जिम्मेवार नेताहरु नै लागिरहेका कारण पार्टीबाट असहयोग भएको बताएका थिए ।
कम्युनिष्ट आन्दोलन र राष्ट्रियता दुवै संकटमा रहेका कारण आफूले दुवै पद नछाड्ने अडान मन्त्रीहरुसँग पनि दोहोर्याएका थिए । ‘अहिले कम्युनिष्ट आन्दोलन र राष्ट्रियता दुवै खतरामा छ यसले मुलुकको हीत गर्दैन त्यसकारण म दुवै पद नछाड्ने मुडमा पुगेको हौ कम्युनिष्ट आन्दोलन र राष्ट्रियता जोगाउन तपाईहरुको भूमिका महत्वपूर्ण छ’, बैठकमा सहभागी भएक ाएक मन्त्रीले भने । उनका अनुसार ओलीले दुवै पद छाड्ने मनस्थिति देखाएका थिएनन् । कम्युनिष्ट आन्दोलन जोगिन्छ वा राष्ट्रियता जोगिन्छ भने मात्रै राजिनामा दिन्छु भन्दै उनले अहिले भारतसँग टसल परिरहेको अवस्थामा मैले राजीनामा दिनु ठिक छैन समेत भनेका थिए । ‘स्थिति निकै जटिल छ दुवै पक्ष आफ्नो अडानमा अडिग रहेको पाइयो पार्टीमा मुठभेडमै जाने अवस्था दखिदैछ’, प्रधानमन्त्रीको विफ्रङ सुनेर फर्केका मन्त्रीले भने ।
आइतबार दाहालले ओलीसँग समय लिएरै छलफल गर्ने भएका छन् । पार्टीका एकतालाई कायम राख्न कुन कुन विन्दूबाट छलफल थाल्ने कुन विन्दूमा पुगेर टुग्याउने भन्ने बारेमा छलफल गर्ने उनी निकट स्रोतले जनाएको छ । प्रधानमन्त्रीले परिस्थिति जटिल रहेकाले आफू जुनसुकै अवस्थामा पुग्न सकिने समेत बताएका थिए । ‘आफूले केही निर्णय लिन सक्ने अवस्था आउनसक्ने संकत गर्नुभयो जसले हामीलाई झस्काएको छ’, एक मन्त्रीले भने परिस्थितिबारे यसै भन्न सकिने अवस्था छैन ।’ प्रधानमन्त्री ओलीले कुनै हालतमा पछि नह्ने संकेत गरेका छन् । भोलीका दिनमा आइपर्ने समस्यासँग जुध्न पनि प्रधानमन्त्री ओलीले मन्त्रीहरलाई आग्रह गरेका थिए ।




