ताजा समाचार

आन्तरिक विवाद नसुल्झेका कारण नेकपा स्थायी कमिटी बैठक स्थगित

कठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी समिति बैठक आन्तरिक विवादका कारण फेरि स्थगित भएको छ । सहमति जुट्न नसकेको नेताहरुले बताइरहेको बेला शनिबारका लागि तय भएको बैठक असार २२ गते सोमबारसम्मका लागि स्थगित भएको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दै थप समय माग गरेपछि बैठक स्थगित गरिएको हो । प्रधानमन्त्री ओलीले गत आइतबार दिएको विवादास्पद अभिव्यक्तिका कारण नेकपाभित्र विवाद उग्र बनेको छ । यसअघि बिहीवार केही समय बसेर स्थगित भएको बैठक शनिवारका लागि बोलाइएको थियो । ओली नेपाल समूहले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चुलिएको छ।

शुक्रबार दिनभरको छलफलमा शीर्ष नेता तथा दोस्रो पुस्ताका नेता ओलीले नै समाधान निकाल्नुपर्ने, त्यसका लागि पार्टी निर्णय मान्नुपर्ने निष्कर्षमा पुगेका छन्। शुक्रबार दिउँसो दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच भएको छलफलपछि खुमलटारमा शीर्ष नेताहरु छलफलमा जुटेका थिए। साँझ अबेरसम्म भएको छलफलमा ओली र दाहालबीच भएको कुराकानीलाई मिहिन ढंगले विश्लेषण गरिएको थियो।

पार्टी एकता सग्लो रहने कि नरहने भन्ने विषय अबको दिनमा ओलीले चाल्ने रणनीतिमा भर पर्ने निष्कर्ष पनि छलफलले निकालेको छ। दाहालसँगको छलफलमा ओलीले दुईमध्ये एक पद छाड्न अस्वीकार गरेपछि अब एकपटक छलफलमा बस्ने, त्यसबाट पनि निकास नआए स्थायी कमिटीको जारी बैठकबाट निकास दिने निर्णय गर्दै खुमलटारबाट नेताहरु बाहिरिएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *