ताजा समाचार

ओली र प्रचण्डबीच निर्णायक छलफल हुँदै , विभाजन रोक्न दोस्रो तहका नेताहरु सक्रिय

काठमाडौं । सत्तारुढ दलका नेताहरुको आफ्नै हठका कारण पार्टी एकताको २६ महिनामै गम्भिर विभाजनको मोडमा पुगेको छ । पार्टी र सरकार दुवै मोर्चामा बसेर स्वेच्छाचारिता प्रर्दशन गरेको भन्दै प्रधानमन्त्री ओलीको कार्यशैलीका विरुद्ध नेकपाका अर्का अध्यक्ष प्रचण्डसहितका अन्य शीर्ष नेताहरु उनलाई हटाउन लाग्दा पार्टी विभाजनको मोडमा पुगेको हो ।
ओलीको कार्यशैली, अभिब्यक्ति र गलत हर्कतका कारण नेकपा गम्भिर संकटमा धकेलिएको भएपनि अन्य नेताहरु पनि ओलीलाई जसरी पनि हटाउन लाग्दा दुवैपक्षवीच टसल बढेको हो । गलत संस्कृतिवाट पार्टी र सरकारलाई बचाउने उद्येश्यले नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा लगायतका नेताहरु एकजुट भएपछि ओलीले पनि आफू पक्षका नेताहरलाई भेला गर्दै काउण्टर दिइरहेका छन् ।
ओलीलाई उनीहरुले सरकार र पार्टी अध्यक्ष दुवैबाट राजीनामा दिन आग्रह गरिरहेका छन् । यसको अर्थ यही जारी स्थायी समिति बैठकबाट ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पदबाट जसरी पनि राजीनामा गराउने योजनामा देखिन्छन् । पार्टीमा आईलागेको यो अप्ठयारोका बीचमा प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा नदिने भन्दै बैठक समेत छल्दै आईरहेका छन् । प्रधानमन्त्री निवासमै बस्ने बैठकमा समेत उनी सहभागी हुन छोडेका छन् । ओलीले आफुलाई हटाउन झम्सिखेल भेलामा स्थायी समितिका ४४ सदस्य मध्ये ३० सदस्य एकगठ भई भेला भएपछि संसदको अधिवेशन अन्त्य गर्ने निर्णय आपतकालिन मन्त्रिपरिषद्को बैठक बोलाएर गराएका छन् । यसले पार्टीमा विवाद झन चर्किएको छ । विवाद वढदै गएपछि नेकपामा गम्भीर संकट आएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नै स्वीकार गरेका छन् ।
ओलीको हठका कारण पार्टी संकटमा परेसँगै र विभाजन उन्मुख भएपछि अध्यक्ष प्रचण्डले पार्टी एकता बचाउनका लागि अन्तिम प्रयास गर्ने बिहिबारको स्थायी समिति बैठकलाई जानकारी गराएका थिए । त्यसैका लागि अध्यक्ष दाहालले आज एक दिनको लागि पार्टी स्थायी समिति बैठक रोकेर भोलि मात्र स्थायी समिति बैठक बोलाएका छन् । उनले आज प्रधानमन्त्री ओलीसँग निर्णायक छलफल गर्ने तयारी गरेका छन् । सोही अनुसार आज ओली प्रचण्ड सम्वाद हुदैंछ ।
ओलीको राजीनामा नदिने अडान र ओलीलाई कम्तीमा दुई मध्ये एक पदबाट राजीनामा गराई छोडने योजनामा रहेका नेताहरु बीचको मिलन विन्दुको खोजीमा निर्णयक छलफल हुन लागेको हो । पार्टीमा देखा परेको संकटका बारेमा अध्यक्ष प्रचण्डले स्थायी समितिको बिहीबारको बैठकमा भनेका थिए, यो स्थायी समितिले पार्टी एकता पनि घोषणा गर्न सक्छ । ओली प्रचण्डको भेटघाटसँगै दोस्रो तहका नेताहरुपनि पार्टी एकतालाई जारी राख्न दौडधुप गरिरहेका छन् । उनीहरुले दुवै नेताहरुलाई भेटेर आपसी समझदारी कायम गरी अघि बढ्न सुझाव दिइरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *