ताजा समाचार

युगान्तकारी नेता कोइरालाको अपव्याख्या

काठमाडौं । गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीका अवशरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा पार्टीका भ्रातृ संगठनहरुले आज देशभर विविध कार्यक्रमको आयोजना गरेका छन् । विगत १० वर्षदेखि नेपाली कांग्रेसले कोइरालाको जन्मजयन्तीलाई आफ्नो पार्टीको पर्वका रुपमा मनाउँदै आएको छ । यता सरकारले भने बिर्सेको छ । नेताले मुलुकका लागि पुर्याएको योगदानको कदर गर्दै जन्मजयन्ती मनाउने परम्परा विश्वव्यापी रहि आएको छ । तर नेपालको सन्दर्भमा भने यो परम्परा अली बेग्लै छ । सरकारी स्तरमा सत्तारुढ पार्टीका नेताहरुको मात्रै जन्मजयन्ती मनाउने परम्परा छ ।
उदाहरणका लागि गत सोमबार नेपालको वाम्पन्थी आन्दोलनका युगान्तकारी नेता मदन भण्डारीको ६९ औं जन्मजयन्ती राज्यको साधन तथा स्रोत प्रयोग गरी भव्यताका साथ मनाइयो । सरकारका सबै अंग, निकाय तथा संयन्त्र यसमा सरिक भए । त्यसको चार दिन पछि आज विहिबार नेपालकै युगान्तकारी नेता गिरिजाप्रसाद कोइरालाको जन्मजन्ती परेको छ, तर सरकारमा रहनेहरु यसबारे बेखवर छन् । सायद कोइरालाको जनमजयन्तीका कार्यक्रम बारेका समाचार सरकारी मिडियामा प्रशारण प्रकाशन नहुन पनि सक्छन् । मुलुकका लागि ज्यादै ठूलो विडम्वना हो यो । यो मामिलामा अहिलेको कम्युनिष्ट सरकार मात्रै दोषि छैन, विगतका नेपाली कांग्रेसका सरकारहरु पनि उत्तिकै दोषि छन् । नेपाली कांग्रेसमा त गुटगत आधारमा समेत दिवंगत नेताहरुको मानमर्दन गर्ने परम्परा छ । टाढा जानु पर्दैन कृष्णप्रसाद भट्टराईलाई विर्सेको घटनाले पनि पुष्टि गर्छ । शैलजा आचार्य, खुमबहादुर खड्का, भीमबहादुर तामाङ लगायतका नेताहरुलाई विर्सिइएको घटनाले पनि पुष्टि गर्छ ।
गिरिजाप्रसाद कोइराला युगान्तकारी नेताहुन् भन्ने कुरामा कतै दुईमत छैन । राजतन्त्रको युगलाई अन्त्य गरी गणतन्त्रको युगमा मुलुकलाई पु¥याउने आन्दोलनको नेतृत्व गरेका महान नेता हुन्, गिरिजाप्रसाद कोइराला । यति हुँदा पनि मुलुकमा प्रजातन्त्र प्राप्ति तथा संस्थागत विकासका लागि कृष्णप्रसाद भट्टराईले पु¥याएको योगदान तथा त्यागका सामुन्ने कोइरालाको उचाई माथि होइन । तर कोइरालाको जन्मजयन्तीमा नेपाली कांग्रेस तथा यसका भ्रातृ संगठनहरुमा जति उत्साह देखिन्छ, भट्टराईको जन्मजयन्तीमा देखिँदैन । किन नदेखिएको होला ? यही प्रश्नको उत्तरको शेरोफेरोमै नेपालको राजनीति अडिएको छ । नेताहरुको मुल्यांकन र स्मरण गर्ने कार्यमा समेत स्वार्थभाब जोडिएको पाइन्छ ।
कोइराला परिवारमा संभवना बोकेका धेरै नेताहरु छन् । नेपाली कांग्रेसको राजनीति कोइराला परिवारकै शेरोफेरोमा घुमिरहेको छ । त्यस कारण श्रद्धाभन्दा पनि चाकडीका लागि जन्मजयन्ती मनाउनेहरु धेरै छन् । कृष्णप्रसाद भट्टराईले पारिवारिक विरासतका आधारमा कसैलाई नेतृत्व पंक्तिमा पु¥याएनन् । नेपाली कांग्रेसको प्रभावकारी भूमीकामा उनका नाता गोता तथा भाइखलक छैैनन् । हुने संभावना पनि देखिन्न । जब कसैको जन्मजयन्ती मनाएर लाभ हुने अवस्था छैन भने किन मनाउने ? भन्ने प्रश्न नेपाली कांग्रेसका अधिकांश नेता तथा कार्यकर्ताहरुको दिमागमा उब्जने गरेको छ । प्रकासमान सिंहको चकडीमा लागि गणेशमान सिंहको बखान गर्ने , विमलेन्द्र निधिको चाकडीका लागि महेन्द्रनारायण निधिको बखान गर्ने प्रतिस्पर्धामा कार्यकर्ता संलग्न हुनु भनेको खतरनाक पक्ष हो । आफ्ना सन्तति तथा नाता गोता पार्टीको प्रभावशाली ठाउँमा नहुने हो भने आँफू मरेपछि पार्टीले विर्सँदो रहेछ भन्ने उदाहरण कृष्णप्रसाद भट्टराई , शैलजा आचार्य मात्रै होइनन् , भीमबहादुर तामाङ , बलवहादुर राई पनि ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री देवव्रत परिवारको विषयमा त यतिबेला नेपाली कांग्रेका कोही कसैलाई केही थाह छैन । यति सम्मकी उनको ठेगाना समेत गायव छ । आफ्नो यो अवस्था नओस भन्ने सोचेरै होला नेपाली कांग्रेसका सभापति शेरबहादुरले श्रीमति आरजु राणा र वरिष्ठ नेता रामचन्द्र पौडेलले छोरा चिन्तनलाई अघि सारेका ।
आज कोइरालाको जन्मजयन्ती भएकोले अरु सन्दर्भ भन्दा उनकै व्याक्तित्वका विषयमा उल्लेख गर्नु सान्दर्भीक हुन्छ । मुलुकको राजनीतिमा सबै भन्दा धेरै ऐतिहासिक नजीर कायम गरेका नेता थिए कोइराला । मलुकका धेरै नेताहरुका एक मात्रै विशेषता छन् । तर कोइराला भने धेरै विशेषता भएका नेता थिए ।

पहिलो विशेषता
उनलाई धेरैले दरबार निकटस्थ कांग्रेस नेताका रुपमा बुझेका थिए , राजतन्त्र फाल्ने चतु¥याँइ उनले कुशलता पूर्वक निर्वाह गरे ।

दोस्रो विशेषता
२०४८ सालको आम निर्वाचनसम्म उनी व्याक्तिगत स्वार्थ नभएका , पार्टीगत स्वार्थका लागि अहोरात्र खटिने नेताका रुपमा चिनिन्थे तर २०५१ सालमा उनले व्याक्तिगत स्वार्थका लागि प्रतिनिधिसभा विघटन गरेर मुलुककै राजनीति डिरेल गराई दिए , नेपाली कांग्रसलाई तहस नहस बनाई दिए । आफ्नो यो कदमका सामु तत्कालिन पार्टी सभापति कृष्णप्रसाद भट्टराईलाई आत्मासमर्पण गर्न कोइरालाले वाध्य बनाइदिए । भट्टराई जस्तो बौद्धिक छविभएका नेतालाई समेत आफ्नो गलत कदमको वरिपरी घुमाउन कोइराला सफल भए । आफ्नो गलत कदमलाई साथ नदिएवापत गणेशमान सिंह लगायत पार्टीका दर्जनौ नेताहरुलाई साइड लगाउन कोइराला सफल भए ।

तेस्रो विशेषता
प्राय : सबै नेताहरु आफ्नो गलत कदमको पुष्टि गर्न अरु गलत कदम चाल्दै जान्छन्, तर कोइराला यस्ता नेता थिए , गल्ती महशुस गर्थे र त्यसलाई सुधार्थे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *