काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कांग्रेस केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीको कोरोना बिमा गरिदिएका छन ।
कोरोना महामारी नियन्त्रणमा अविश्रान्त योगदान गरेका बस्नेतले कांग्रेस केन्द्रीय कार्यालयमा कार्यरत २५ जना कर्मचारीको कोरोना बिमा गरिदिएको पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।
पूर्वमन्त्री बस्नेतले यस अघि सिन्धुपाल्चोकमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीको कोरोना विमा गरिदिएका छन । यसै गरी बस्नेतले सिन्धुपाल्चोक कांग्रेसका ६ सयभन्दा बढी नेता तथा कार्यकर्ताको कोरोना बिमा गरिदिएका छन ।
नेता बस्नेतले लकडाउन सुरुभए लगत्तैदेखि सिन्धुपाल्चोकका अधिकांश स्वास्थ्य संस्थामा माक्स, सेनिटाइजर, पीपीइ,थर्मल गन लगायतका स्वास्थ्य समाग्री उपलब्ध गराउदै आएका छन । उनले सुरक्षाकर्मी र पत्रकारलाई समेत स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन ।
कोरोना भाइरसको संक्रमणबाट पहिलो ज्यान गुमाउने सुत्केरी महिलाको शिशुको लालनपालन,शिक्षदिक्षा र रोजगारीको समेत जिम्मा पूर्वमन्त्री बस्नेतले लिएका छन ।
पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोक जिल्लामा पीसीआर मेसिन खरिद गरी आवस्यक कर्मचारी र किटको समेत व्यवस्था मिलाउने घोषणा गरेका छन ।





