काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । बैठक बस्नुअघि नेताहरुवीच असमझदारी बढेपछि बैठकमै विवाद उत्कर्षमा पुगेको हो । जारी स्थायी कमिटीको बैठकमा शीर्ष नेताहरु र स्थायी कमिटीका केही सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन आग्रह गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।
बैठक बस्नुअघि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवासमा भएको भेलाले बैठकमा झमेला गरिरहेको ओली पक्षले आरोप लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनअघि भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागेको अभिव्यक्ति दिएपछि मंगलबारको बैठकमा निर्धारित एजेण्डाभन्दा बाहिर गएर शीर्ष नेताहरुले बैठकको शुरुवातमै ओलीको त्यो भनाई पुष्टि गर्न चुनौति दिएका थिए । बैठकको शुरुवातमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले राजिनामा मैले मागेको हो भारतले होइन अब पार्टी र प्रधानमन्त्री दुवैबाट राजिनामा दिनुस तपाई आराम गर्नुस भनेका थिए । ‘प्रधानमन्त्रीकै हैसियतले भारतले आफूलाई हटाउन लागेको भनेर जसरी कुरा आयो यो विषय सामान्य होइन, बैठकमा सिधा सिधा प्रमाण राख्नुस त्यसमा छलफल गरौ’, अध्यक्ष दाहालको भनाईलाई उद्यृत गर्दै स्रोतले भन्याे । बैठकमा ओली दाहालबीच सवाल जवाफ नै भएको थियो । दाहालले बैठकको शुरुमै आफू काम गर्न नसक्ने, जनताको माझमा पार्टी र सरकार दुवैको लोकप्रियता खस्काउने अनि जनस्तरबाट उठेका आवाजलाई सम्बोधन गर्न नसकेपछि भारतले हटाउन लाग्यो भनेर अभिव्यक्ति दिनु शोभनीय नभएको बताएका थिए ।
प्रधनमन्त्री ओली नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको जन्मदिवसको दिन भारतले आफूलाई हटाउने चलखेल गरेको भारतीय दूतावासका अधिकारीहरुले होटल–होटलमा बैठक बस्ने गरेको बताएका थिए । पार्टीको स्थायी कमिटी बैठक चलिरहेको बेला प्रधानमन्त्रीको त्यस्तो भनाई आएपछि पार्टीका शीर्ष नेताहरुले त्यसलाई राम्रो अभिव्यक्ति नभएको र स्थायी कमिटीको बैठकमा छलफल हुने बताएका थिए । शनिवारको बैठकमा बोल्न बाँकी सदस्यहरुमध्ये शीर्ष नेताहरुले नै मंगलबारको बैठकमा ओलीको अभिव्यक्तिलाई लिएर आफ्नो धारणा राखेका थिए । ‘पार्टीको अध्यक्ष, प्रधानमन्त्री जस्तो व्यक्तिले पार्टीको बैठकमा राख्नुपर्ने कुरा बाहिर राखेर कसलाई भारतपरस्थ गराउन खोजेको हो ?’, दाहालको भनाई उद्यृत गर्दै स्रोतले भन्यो । बैठकमा दाहालले निर्वाचन आयोगमा नेकपा एमाले भन्ने पार्टी कसले दर्ता गरेको हो भने पनि ओलीलाई प्रश्न गरेका थिए । उनले पार्टीको जिम्मेवार ठाउँमा बसेर यस्तो अभिव्यक्ति दिंदा कसलाई घाटा भयो, पार्टीलाई क्षति भएको छ कि छैन भनेर पनि प्रश्न गरेका थिए । ‘ बैठकमा छलफल हुन्छ यसको स्पष्ट प्रमाण, आधारचाहिन्छ प्रधानमन्त्रीको कुर्सीमा बसेर भारतले हटाउन खोज्यो भन्नु, होटलमा बैठक भएको छ भन्नु बैठकमा चाहि एजेण्डा नै नराख्ने हो भने बैठक के का लागि बस्ने ?’ दाहालको भनाई उद्यृग गर्दै स्रोतले भन्यो ।
शीर्ष नेताहरुबाटै उनको राजीनामा माग भएपछि जवाफमा प्रधानमन्त्री ओलीले मैले राम्रो काम गर्दा गर्दै पार्टीभित्रैबाट असहयोग भएको दावी गरेका थिए । पार्टीको बैठकमा भएका विषय र भारतीय मिडियामा आउने विषय एउटै भएका छन् आज तपाईहरुले जे विषय उठाउनु भयो ती विषय भारतीय मिडिया कसरी आए ? राष्ट्र राष्ट्रियताको पक्षमा काम गर्दा कतिपय व्यक्तिहरुलाई मन नपरेको सत्य हो, पार्टीले पनि असहयोग गरेको छ भन्दै ओलीले प्रश्न गरेका थिए । ‘ सरकारले राम्रो काम गरेको छ भन्ने धेरै तथ्यहरु छन् तथ्यमा कुरा गरेको हो मैले, केही व्यक्तिहरु मेरो विरुद्ध होटलमा बैठक बसेको पनि सत्य हो त्यहाँ भारतीय दूतावासका कर्मचारी पनि थिए’, वैठकमा ओलीको भनाई उद्यृत गर्दै भन्यो ‘ दिल्लीबाट प्रकाशित हुने मिडियाहरुमा आएका समाचार पनि आजको बैठकमा अएका अभिव्यक्तिसँग मिल्दा जुल्दा छन् त्यो कसरी हुन्छ बैठकमा भएका धारणालाई यहाँबाट कसले रिपोटिङ गर्छ ?’
पार्टीको बैठक सिध्याएर बाहिर निस्केका एक स्थायी कमिटी सदस्यका अनुसार बैठकमा ओली दाहालबीच निकैबेर सवाल जवाफ भएको थियो । बैठकमा दाहालले निर्वाचन आयोगमा झापाका सन्ध्या तिवारी भन्नेको नामबाट नेकपा एमाले नामको दल दर्ता भएको छ त्यो कसले गरायो भन्दै जवाफ मागेका थिए । त्यसमा पनि ओलीले मेरो पार्टी नेकपा हो मलाई अर्को दल कहाँ के भन्ने जानकारी छैन, गोपाल किरातीको नाममा पनि माओवादी भन्ने दल दर्ता भएको भन्ने सुनेको थिए त्यसको जवाफ मैले कसैसँग मागेको पनि छैन। यस्ता मसिना कुरा गर्नुपनि छैन भन्ने जवाफ दिएका थिए ।
स्रोतका अनुसार मंगलबारको बैठक बस्नुअघि पूर्व माओवादीका नेताहरुबीच खुमलटारमा भेला भएर बैठकमा सहभागी भएका थिए । ओली पक्षका नेताहरुले खुमलटारबाटै राजीनामाको प्रस्ताव आएको भन्दै आलोचना गरेका छन् ।




