ताजा समाचार

बैठकमा नेताहरुको आसन फेरियो प्रचण्डलाई केन्द्रमा राखियो

 काठमाडौं । प्रधानमन्त्रीसहित सचिवालयका सदस्यहरुलाई फरक आसन र अन्यलाई फरक आसनको व्यवस्था गरेपछि पार्टीभित्र राजशी शैली भएको भन्दै विरोध हुँदा बैठकको चौथो दिन आज कुर्सी र आसन दुवै परिवर्तन गरिएको छ ।

नेकपा स्थायी कमिटि बैठक सुरू भएपछि प्रधानमन्त्री कार्यालयले पठाएको तस्वीरमा आजको बैठकमा प्रधानमन्त्री लगायत सचिवालयका सबै नेताहरुलाई मञ्चबाट तल झारिएको छ । मञ्चबाट तल झारेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई समान लहरमा राखिएको छ ।त्यस्तै अन्य सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेललाई स्थायी कमिटी सदस्यहरुकै लहरमा राखिएको छ । यसअघि बैठक उदघाटनको दिन बुधबार दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई अग्लो मञ्चमा सुविधाजनक सोफाको प्रवन्ध गरिएको थियो भने अरु नेताहरुलाई काठका कुर्सीको प्रवन्ध गरिएको थियो ।

बरिष्ट नेता माधव नेपाल र झलनाथ खनाललाई अध्यक्षको आसनभन्दा केही पछाडि राखिएको थियो । सचिवालयका ९ जना नेता मञ्चमा थिए, स्थायी कमिटीका सदस्यहरु तल, होचोमा । पहिलो दिन बरिष्ठ नेता माधव नेपालले आफ्नो आसन केही अगाडि सार्न लगाएर विरोध जनाएका थिए । शुक्रबारको बैठकमा अध्यक्षहरु बस्ने विशेष सोफा हटाइयो र अरुकै जस्तो काठका कुर्सी राखियो । प्रधानमन्त्री ओली त्यो दिन बैठकमै आएनन् । शनिबार तेस्रो दिनको बैठकमा प्रधानमन्त्री केही बेर बसे । तर, सोफामा हैन, काठकै कुर्सीमा । आज मंगलबारको चौथो बैठकमा चाहिँ नेकपाले आफ्नो आसनमा अझै ‘क्रान्तिकारी’ परिवर्तन गरेको हो । अहिले पार्टीभित्र विभिन्न सन्र्दभमा केपी ओलीको विरोध भैरहेको बेला आजको कर्सी आसनमा प्रचण्डलाई केन्द्रमा राखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *