काठमाडौं । सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक बस्नुअघि प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। प्रधानमन्त्री कार्यालयले यसलाई नियमित भेट भएको जानकारी दिएको छ। आफ्नो सरकारी निवासमा पार्टीको बैठकलाई ओलीले छलिरहेका ओली अकस्मात् राष्ट्रपति कार्यालयमा जानुलाई ‘अर्थपूर्ण’ रुपमा हेरिएको छ।
भेटमा के कुराकानी भयो भन्ने बाहिर आएको छैन। ओलीले १० बजेदेखि आधा घन्टा राष्ट्रपतिसँग छलफल गरेका थिए। ओलीले असार १४ गते मदन भण्डारीको जन्मजयन्ती समारोहमा आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन लागेको विवादास्पद अभियव्यक्ति दिएका थिए। पार्टीभित्रैबाट पनि आफूलाई हटाउने योजनामा साथ दिइरहेको आशयको अभिव्यक्तिपछि उनी आलोचित छन्। स्थायी समिति बैठकमा प्रधानमन्त्रीलाई राजीनामा गर्न लगाउने सम्भावना बढेको नेताहरू बताउँछन्। आफूलाई समस्यामा पार्नसक्ने बुझेर प्रधानमन्त्रीले बैठक छलिरहेको बुझिन आएको छ।
ओली राष्ट्रपतिलाई भेटेपछि भने बैठकमा गएका छन्। आजको बैठकमा सीमा सुरक्षा, नेपाल(भारत सीमा विवाद र कोरोना नियन्त्रण रोकथाममा सरकारको काम कारबाहीबारे छलफल गर्ने कार्यसूची छ।




