ताजा समाचार

‘कोरोना रिमुभिङ कार्ड’ को नेताहरुबाटै विज्ञापन

काठमाडौं । सत्तारुढ दल नेकपाको स्थायी कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना लगायतका विभिन्न भाइरसबाट टाढा राख्न मद्दत गर्ने भन्दै एउटा जन्तर बाँडे । बुधबारको बैठकमा सबै नेताहरुले त्यसको प्रयोग पनि गरे । तर त्यो कार्ड प्रयोग बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना रिमुभिङ कार्ड’ मा प्रयोग भएको रसायनहरुले मुटु, कलेजोमा गम्भीर असर गर्ने बताएको छ ।

कोरोना संक्रमण रोक्न-नियन्त्रणका लागि आहिलेसम्म कुनै पनि औषधिको विकास नभएको भन्दै मन्त्रालयले भ्रम नफैलाउन समेत आग्रह गरेको छ । ‘कोरोना रिमुभिङ कार्ड’ नामक कार्डमा प्रयोग भएको रसायनले मुटु, कलेजो र फोक्सोमा गम्भिर असर बताइरहँदा शनिबारको बैठकमा माधव नेपाल बाहेक अन्य नेताहरुले सो कार्ड झुण्ड्याएको देखिएन । कोरोना नियन्त्रणका लागि अहिलेसम्म कुनै औषधि नबनेको उल्लेख गर्दै मन्त्रालयले कोरोनाका नममा भ्रम नछर्न आग्रह समेत गरेका छ । भाइरस नसर्ने नाममा कार्ड बनाउने वा विदेशबाट ल्याएर बजारमा वितरण तथा प्रतिष्ठित व्यक्तिका गालामा झुण्ड्याएर प्रचार गर्ने कार्यप्रति मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको समेत जनाएपछि अन्य नेताहरुले त्यसलाई हटाएका थिए ।

नेकपा स्थायी समिति सदस्यहरुले शुक्रबार बैठकमा सहभागिता जनाउँदा ‘कोरोना रिमुभिङ कार्ड’ गालामा झुण्ड्याएका थिए । बियोन्ड द वाल ट्रेडिङ कम्पनीले चीनबाट १० हजार थान यो कार्ड नेपाल ल्याएको बताइएको छ । पार्टीले यो कार्ड ‘बियोन्ड द वाल ट्रेडिङ कम्पनी’ बाट बुधबार खरिद गरेको थियो । ‘केटाकेटी हुँदा धामीले जन्तर लगाइदिन्थे । बोक्सी लाग्दैन, भूतप्रेत लाग्दैन भनेर गलामा झुन्ड्याइदिन्थे । अहिले कोरोना जन्तर लगाइदिए,’ स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले भने, ‘कार्ड माधव नेपालले ल्याउनुभएको हो । डाक्टरहरूले दिएको भन्ने छ । जापानमा पनि धेरैले लगाएर हिँड्छन् रे । घाममा नदेखाउनू भन्ने नियम रहेछ । अरूले लगाएको देखेपछि मैले मागेँ । यसले भाइरस उडाउँछ कि उडाउँदैन, उही बेसारको धूलोजस्तै हो कि ? भनर उनले प्रश्न समेत गरेका थिए ।

संसदको विकास समितिका सभापति कल्याणी खड्काले यसलाई प्रचार गर्न मद्दत गरेको देखिन्छ । १० हजार थान यस्तो समान नेपाल ल्याइएको र यसको मुल्य ७ सय रुपैया रहेको छ । खडकाकै छोराको कम्पनी भएको कारणले पनि नेकपाका सांसदहरुले यो कार्ड लगाउने गरेका छन् । बुधबारदेखि शुरु भएको स्थायी कमिटी बैठकमा नेकपाले ६० थान कार्ड प्रयोग गरेको थियो । खरिद गरेर नै बुधबारको बैठकमा बाँडिएको थियो । तर शुक्रबारदेखि अधिकांश नेताहरुले त्यसको प्रयोग गर्न छाडेका छन् । के हो यो जन्तर ? जापानको एउटा कम्पनीले क्लोरिन क्लोरिन डाइअक्साइड प्रोड्युसर, ग्यास स्टेइन रिलिज एजेन्ट, ब्याम्बो कार्बनजस्ता रसायनहरू राखेर घांटीमा झुन्ड्याउने परिचय पत्रजस्तो डिभाइस ३÷४ महिना पहिले निकालेको थियो । यसलाई जापान, हंगकंग, चीन, भियतनाम, अरबका देशहरु लगायत धेरै देशमा प्रयोग गरिंदै आएको छ । जसरी ओडोमस वा धुप लगाउंदा लामखुट्टे भाग्दछन् त्यसै गरि यो घांटीमा झुन्ड्याउदा एलर्जी गराउने तत्व, ब्याक्टेरिया तथा भाइरस भाग्छन् भन्ने कन्सेप्ट राखेर यो कार्ड बनाइएको हो । यो कार्डले ३० दिन काम गर्ने तथा ५० सेमि वरिपरी काम गर्ने कम्पनीले जनाएको छ । त्यस्तै यसले बिरामी, जेष्ठ नागरिक, बालबालिका र इम्युनिटी पावर कम भएका व्यक्तिलाई उपयोगी हुन्छ भनेर उत्पादक कम्पनीले उल्लेख गरेको छ ।

हंगकंगका भाइरोजिष्ट तथा इम्युनिलोजिष्ट डा. एरिन डेविडसनले भनेका छन् यो पुरै भ्रम हो, यसले स्वाश्प्रश्वासजन्य भाइरसबाट सुरक्षा गर्दैन । यसले कोरोना संक्रमण रोक्न कुनैपनि काम गर्दैन । नाक तथा मुखको नजिक राख्दा यसमा भएको क्लोरिन डाइअक्साइडले आँखा, छाला तथा स्वाश्प्रश्वासमा गम्भीर असर गर्न सक्दछ । क्लोरिन डाइअक्साइड भुँई, टेबुल आदि सफा गर्न प्रयोग गरिन्छ । यसलाई अनुहारको नजिक ल्याउनु हुँदैन । यसलाई भियतनाम लगायतका देशमा प्रतिबन्ध लगाइएको छ । यसको प्रयोग गर्ने व्यक्तिमा फल्स प्रोटेक्सन अर्थात गलत रुपमा सुरक्षित महशुस हुने भएकोले प्रयोगकर्ताले सुरक्षा सतर्कता नअपनाउने खतरा हुन्छ । जसले गर्दा कोरोना संक्रमण सर्ने जोखिम बढ्दछ । कोभिड १९ को कुनैपनि औषधि तथा खोप नभएको समयमा मान्छेको भावनालाई क्यास गर्न बिभिन्न कम्पनीले समयसमयमा ल्याउने उपभोग्य बस्तुमा हामीले विश्वास गरेर प्रयोग गरिहाल्नु हुँदैन । चीनको कम्पनीले पनि निकालेको यो कार्डको निर्यातकर्ताले नेता तथा सभासदलाई उपलब्ध गराएर निशुल्क रुपमा ठूलो बिज्ञापन गर्न सफल भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *