काठमाडौं ।सिन्धुपाल्चोक जिल्लाको हेलम्वु गाउँपालिका नेपालकै नमुना बन्ने तर्फ अग्रसर भइरहेको छ । धार्मिक र पर्यटकीय दृष्टिले ठूलो संभावना बोकको हेलम्बू गाउँपालिका जडीवुटी , कृषि तथा जलस्रोतका दृष्टिले मात्रै होइन शैक्षिक दृष्टिले समेत प्रगतिको दिशामा अघि बढिरहेको छ ।
पालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाको अगुवाईमा हरेक वर्ष केही न केही उदाहरणीय कार्यक्रम आउने गरेका छन् । जुन कार्यक्रमलाई मुलुकका अन्य पालिकाहरुले पनि अनुकरण गर्ने गरेको देखिएको छ । पालिकाले आगामी अर्थिक वर्षका लागि केही अनुकणीय कार्यक्रम ल्याएको छ । गत वुधवार ल्याइएको नीति तथा कार्यक्रम अनुसार गत वर्षदेखि दिँदै आएको एकल पुरुष भत्तामा शतप्रतिशत वृद्धि गरी रु १ हजार बनाएको छ । अन्य समुदायका ६० वर्ष र दलित समुदायका ५० वर्ष नाघेका एकल पुरुषका लागि भत्ता उपलब्ध गराउँदै आएको छ । ५० वर्षको उमेर सम्म बिवाह नगरेको एकल पुरुषलाई पनि यो कार्यक्रममा समेटिने भएको छ । यसअघि कक्षा ५ सम्मका विद्यार्थीका लागि खाजा कार्यक्रम सञ्चालन हुँदै आएकामा आगामी आर्थिक वर्षबाट कक्षा १० सम्मका विद्यार्थी तथा शिक्षकहरुका लागि समेत खाजाको व्यवस्था गरिने बुधबार अध्यक्ष निमाग्याल्जेन शेर्पाद्वारा सार्वजनिक नीति तथा कार्यक्रममा उल्लेख छ ।
यसैगरी कोरोना संक्रमणका कारण मुलुकमा लकडाउन भएकोले व्यवसायीहरु आक्रान्त बनेका छन् । उनीहरुको राहतका लागि गाउँ पालिकाले तीन महिनाको बैंक व्याज आँफैले तिरिदिने भएको छ । लगानीकर्ता आकर्षित गरी पालिकाभित्रै रोजगारी वृद्धि गर्ने उद्देस्यले यो कार्यक्रम ल्याइएको अध्यक्ष शेर्पाले बताए ।
लकडाउनका कारण अवत जावत कठिनाई भएकोले घरघरमा गएर खोपको व्यवस्थागर्न पालिका आँफैले स्वास्थ्यकर्मीहरुलाई अतिरिक्त भत्ताको व्यवस्था गरेको छ । दीर्घ रोगीका निम्ति घरैमा गएर औषधी उपचारको व्यवस्था गरिएको छ । यसैगरी शिक्षक तथा विद्यार्थीका निम्ति पालिकान भित्रका सबै विद्यालयमा विद्युतीय हाँजिरको व्यवस्था गरिएको छ । जसको मनिटरिङ पालिका कार्यलयबाटै गरिनेछ । यो व्यवस्था पछि शिक्षकहरु विद्यालय नआउने समस्या समाधान हनो भएको छ । विद्यार्थीले कक्षा ‘बंक’ गर्ने समस्या पनि समाधान हुने अपेक्षा पालिका अध्यक्ष शेर्पाले गरेका छन् ।
पालिका भित्रका ९ वटा माध्यमिक विद्यायलय मध्येमेलम्ची घ्याङ माध्यमिक विद्यालय नेपालकै नमुना आवाशिय विद्यालय बनिसकेको छ जुन विद्यायलमा भर्ना हुनुका लागि राजधानी काठमाडौंबाट मात्रै होइन , इलाम–झापा देखिका विद्याथीहरुले समेत प्रतिस्पर्धा गर्ने गरेका छन् । राजधानी काठमाडौका नाम चलेका विद्यालय सरह नै यस विद्यालयको नतिजा राम्रो छ । यो विद्यालयको क्षमता अझै वृद्धि गर्ने कार्यक्रम पालिकाले अघि सारेको छ । तर बाँकी ८ विद्यालयको भने नजिता राम्रो छैन । शिक्षक अपुग छन् , विद्यार्थी थोरै छन् । त्यसैले यी ८ वटा माध्यमिक विद्यालयलाई एकै ठाउँमा गाभेर मेल्म्ची घ्याङ सरहकै स्तरीय आवाशीय मावि बनाउने तयारीमा पालिका जुटेको छ । यो तयारी करिव करिव सम्पन्न हुने चरणमा रहेको छ । यो काम सम्पन्न हुनासाथ मेलम्चीगाउँपालिका नेपालकै सबै भन्दा उत्कृष्ट शैक्षिक हव बन्ने दावी पालिका अध्यक्ष शेर्पाको छ । उनी भन्छन् –‘ अहिले सम्म हेलम्बुलाई सबैले चिन्ने भनेको रमणीय पर्यटकीय हबका रुपमा हो , अब शैक्षिक हबका रुपमा पनि हेलम्बु चिनिनेछ ।’
तराईको जस्तै हावापानी भएको र तराईको जस्तै कृषिबाली उत्पादनहुने क्षेत्र पनि हेलम्बु गाउँपालिकामा प्रसस्त छ । यसैगरी करिव ७ हजारमिटर उचाईसम्मका हिमचुुचुराहरुपनि यही पालिकामा छन् । यो पालिकामा कल्पना नै गर्न नसकीने सुन्दर पक्ष छन् । त्यसमध्ये एउटा हो –‘ करिव ८ सय मिटर उचाईको ३५ डिग्री सेल्सियस सम्म गर्मी हुने बेसी क्षेत्र किउलमा रेन्बो ट्राउट माछा पालन सर्वाधिक फस्टाएको छ ।’ किनकी यस क्षेत्रमा भरखर हिउँ पग्लेको चीसो पानी प्रवाह हुन्छ । राजधानी काडमाडौं उपत्याकामा ल्याउन लागिएको खानेपानी पनि यहीँको हो । यसैगरी ८ सय मिटर उचाईको बेसी क्षेत्रबाट करिव ३ हजार मिटरका हिमाली गाउँहरु १० मिनेटको ड्राइभिङ यात्रामा पुग्न सकिने गरी गाउँपालिकाले स्तरीय सडक निर्माण गरिसकेको छ । यसैगरी हेलम्वु गाउँपालिकाको अर्को बिशेषता हो –‘ समथर उच्च पहाडी क्षेत्र ।’ उच्च पहाडी क्षेत्रमा समेत विशाल समथर भूमीहरु रहेका छन् । जहाँबाट सगरमाथादेखि धवलागिरि हिमऋंखलाहरु देख्न सकिन्छ । यी सबै क्षेत्रलाई समेटेर चीनको ग्रेटवालको झल्को दिने गरी पदमार्ग निर्माण गर्ने महत्वकाक्षी परियोजना पालिकाले थालनी गरिसेको छ । यो परियोजना मुलुककै सबै भन्दा चर्चित तथा पर्यटकीय अर्थतन्त्रलाई कायपलट गर्ने परियोजनाका रुपमा चर्चित छ । जसलाई ‘हेलम्बु हिमालय ग्रेट ट्रेल’ नाम दिइएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बहुचर्चित हेलम्बु हिमालय ग्रेट ट्रेल निर्माण कार्यलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ । बुद्धपार्क– सेर्माथाङ– ज्योमथाङ– आमायाङ्ग्री– ढुक्पु्– भेमथाङ– पासाङसिरी– गुफुपोखरी– जलंसा– दवालाङगुफा– सेमिसिदाङ– भेयस्री– सोली– ठाडेपाटी– पाकेडाँडा– घोप्टेघ्याङसम्म हेलम्बु हिमालयन पदमार्ग, ( निर्माण कार्य गत आ.व २०७५।०७६ मा वडा नं ६ घोप्टेघ्याङबाट १०५ मिटर निर्माण सम्पन्न भइसकेको । चालु आ.व २०७६।०७७ मा वडा नं २ शेर्माथानबाट १०० मिटर, प्रदेश सरकार र वडा नं ३ बुद्धपार्कबाट १०० मिटर गाउँपालिकाबाट निर्माण अवस्थामा रहेकामा त्यसलाई निरन्तरता दिदै लगिने उल्लेख छ । छिमेकि गाउँपालिका, देशै भरि रहेका स्थानीय तहहरु, पर्यटन व्यवसायी, उद्योग वाणिज्य संघ, राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा रहेका हेलम्बुवासी तथा अन्य सम्पूर्ण नेपालीहरुलाई पनि सो गौरवको आयोजनामा लगानीका लागि हात बढाउन आह्वान गरिएको छ ।
कृषकहरुका लागि रासायनिक मलमा अनुदान, सुत्केरी पोषण भत्ताजस्ता विगतका लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ । साना किसानहरुले कृषि, पशु तथा पर्यटन व्यवसायका लागि हेलम्बु गाउँपालिकाभित्रका बैँकबाट लिएको ऋण कोभिड १९ को कारणले व्याज तिर्न नसकेका कृषकहरुका लागि ३ महिनाको व्याज गाउँपालिकाले तिरिदिनको व्यवस्था पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।





