ताजा समाचार

दुई इन्स्पेक्टर पक्राउ पछि सचेत रहन र निगरानी राख्न हेडक्वार्टरको निर्दैशन

 काठमाडौ । नेपाल प्रहरीमा कार्यरत दुई अधिकृत फरक फरक आरोपमा विहिबार पक्राउ परेपछि प्रहरी प्रधानकार्यालय संशकित भएको छ । शान्ति सुरक्षा कायम गर्ने र समाजमा कानुन कार्यान्वयन तहमा काम गर्ने प्रहरी अधिकृतहरु पक्राउ परेपछि प्रधानकार्यालयले आफू मातहतका सबै कर्मचारीलाई सचेत गराउदै निगरानी गर्न थालेको छ ।

ललितपुरबाट प्रहरी नीरिक्षक (इन्स्पेक्टर) रुद्र बहादु शाही लागुऔषध तस्करीसँग मिलेमतो गरेको आरोपमा पक्राउ परेका हुन् भने जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाशसिंह कार्की घुससहित अख्तियारको फन्दामा परेका हुन् । विहिबार दिउँसो ललितपुरबाट शाही र कैलालीबाट कार्की पक्राउ परेपछि नेपाल प्रहरीले यस विषयलाई गम्भीर रुपमा लिएको छ । प्रहरी जवनादेखि अधिकृतसम्म यसरी अपराधमा मुछिन थालेपछि नेपाल प्रहरीले आजै देशभरका प्रहरी अधिकृतहरुलाई कमाण्डर मार्फत अनुशासनमा बस्न र प्रहरी ऐन र कानुन विपरित काम नगर्न सबैलाई एक साथ निर्देशन दिएको छ ।

लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरले शाहीलाई विहिबार दिउँसो पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरिक्षक कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई पक्राउ गरेको थियो । कानुन व्यवसायी विष्टको फर्ममा छापा हान्दा उनीहरू दुवै जना ५० हजार घुससहित रंगेहात पक्राउ परेका हुन् । जवरजस्तीकरणी र सार्वजनिक हित विरुद्धको २ वटा मुद्धा मिलाइदिन्छु भन्दै उनीहरूले ५० हजार घुस लिएका थिए । दुई जना प्रहरी नीरिक्षक पक्राउ परेपछि यो विषयलाई प्रहरी प्रधानकार्यालयले गम्भीर रुपमा लिएको जनाउदै प्रहरी प्रवक्ता निरजबहादुर शाहीले प्रहरी कर्मचारी लोभमा फस्न थालेको बताए । अहिलेको अवस्थामा प्रहरीभित्रै यस्ता समस्याग्रस्त अधिकृतहरुले संगठनको बद्नामा गराउन खोजेको भन्दै यस्ता कर्मचारीलाई कानुन बमोजिम कारवाहीको दायरामा ल्याउन प्रहरी संगठन लागिरहेको बताए ।

‘ अपराधकर्ममा लागेका र रंगेहात फेला परेकालाई हामीले कानुन बमोजिम कारवाही गर्न मातहत निकायलाई निर्दैशन गरिसकेका छौ उनीहरुलाई सम्बन्धित निकायले अनुसन्धानपछि अदालतमा मुद्धा पेश गर्नेछ’, प्रवक्ता शाहीले भने । उनका अनुसार प्रहरी नीरिक्षकहरु नै पक्राउ परेपछि मातहत निकायका सबै प्रमुखहरुलाई प्रहरी कर्मचारीको सर्भिलेन्स गर्न पनि निर्देशन दिइएको छ । ‘फिल्डमा खटिने प्रहरी अधिकारीहरुको गतिविधिको बारेमा सूक्ष्म जानकारी राख्न हामीले निर्दैशन दिएका छौ’, उनले भने । यसअघि प्रहरी परिसरमा कार्यरत दुई प्रहरी जवान व्यापारीको पैसा लुटपाट गरेको अभियोगमा पक्राउ परेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *