अर्थ

कोरोनाको कहरमा सतहत्तर सालका अपेक्षा

कोभिड १९ नाम दिइएको कोरोना भाइरसको कहर काटिरहेका हामी नेपालीले आज बडो कष्टसित नयाँ वर्ष २०७७ लाई स्वागत गरेका छौँ । यही कहरकाबीच नेपाल र संसारमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले नेपाली पन र नेपाली मनको नयाँ वर्ष विसं २०७७ लाई स्वागत गरेका छन् । नयाँ वर्षको स्वागतका लागि सारा नेपाली नागरिकले कोभिड १९ को त्रासबाट छिट्टै मुक्ति पाउने नयाँ आशाका साथ कामना पनि गरिरहेका छन् । त्यसैले यस वर्षको आगमन यसअघिका वर्षहरुभन्दा विशेष फरक र आफ्नोपनमा बढी भावपूर्ण देखिन्छ । आशा गरौँ सबै नेपाली नागरिकले कामना गरेजस्तै भगवान श्रीपशुपतिनाथले हामीलाई पनि यो कोरोनाको कहरबाट मुक्ति पाउने शक्ति प्रदान गर्न सकुन् ।
तर नयाँ वर्षमा प्रवेश गरेसँगै भोलि के हुन्छ भन्ने चिन्ताले भने हामीलाई निकै सताएको छ । भोलिको यो त्रासमा आफ्नो र देशको भविश्यको चिन्ता देखिन्छ । अर्कैको हातको अर्थतन्त्रको आडमा अडेका हामीहरुलाई भोलिको समस्याले नपिरोल्ने कुरै भएन । विश्व नै महामारीले सताइएको यसबेला हामी नपिरोलिने कुरै भएन । संसारलाई कारोना नामको एक अदृश्य सत्रुले जसरी सताएको छ त्यसको रापमा हामी पनि परेका छौँ ।
यस्तै निराशाबीच हामीले नयाँ वर्षलाई स्वागत गरेका छौँ । तर यतिबेला हाम्रासामु मानवनिर्मित यसअघिका चुनौतीहरुभन्दा बेग्लै दैवी विपत्तिले घेरेको छ । कोरोनाको कहरले लकडाउनका कारण समग्र देशबासीहरु घरभित्रै थुनिएको आज २० दिन भएको छ । तर हप्तैपिच्छे नयाँ नयाँ विरामी देखिँदैछन् । हाम्रो उत्तरी छिमेकी करिब साढे दुई महिना लामो कोरोना कहरबाट भर्खरै तङ्ग्रिएको छ भने दक्षिणतर्फ अब त्यो कहर सर्ने नमिठो संकेत देखा पर्दैछ । उत्तरभन्दा दक्षिणी छिमेकीसँगको सम्बन्ध र सम्वेदनशीलता बढ्ता किनपनि छ भने हाम्रो ९० प्रतिशत भन्दा बढी निर्भरता उसँगै छ । यसरी दक्षिणी छिमेक भारतमा आजका मितिसम्म आइपुग्दा कोभिड १९ का विरामी ९ हजारको हाराहारीमा देखिइसकेका छन् । बढी सम्बन्ध र सम्वेदनशीलताका कारण यसबाट हामीपनि प्रभावित हुने निश्चितै छ । चीनको वुहानजस्तो कुनाबाट इटालीको बाटो युरोप उक्लिएर अमेरिकाहुँदै सारा संसार विचरण गरिरहेको यो जीवाणुले हाम्रो दक्षिणतर्फको खुला सिमानाको फाइदा अझ बढी उठाउने हो कि भन्ने त्रास यतिखेर हामी नेपालीको मनमा भरिएको छ । त्यसैले पनि आज हामी नयाँ वर्षको पूर्वसन्ध्यामा बढी त्रसित छौँ अनि संसारभर छरिएर रहेका नेपालीहरुको भोलिको अवस्था कस्तो होला भनेर बढी चिन्तित र भावुक पनि छौँ । त्यसैले यस्तो बेलामा भाोलिका लागि एक भएर यो दैवी विपत्तिको सामना गर्न हामी सबै नेपालीलाई यस वर्षले बल प्रदान गरोस् भनी हामी कामना गर्दछौँ ।
आइएलओले गएको शुक्रबारमात्र कोरोना भाइरसका कारण विश्वमा १ अर्ब २५ करोड मानिसको रोजगारी जोखिममा रहेको बताएको छ । उक्त प्रतिवेदनमा अहिले नै पूर्ण या आंशिक रुपमा करिव २ अर्ब ७० करोड कामदार प्रभावित भइसकेको उल्लेख छ । विश्वको तथ्याङ्क हेर्दा कामगर्ने समग्र जनशक्तिको यो ८१ प्रतिशत हुन आउँछ । यो समस्यालाई अल्पकालीन भनिएकोले लामो समय त्यस्तो नहुने आशा गरिए पनि अहिले नै कामविहीन भएको अवस्थाले भोलिलाई पनि पिर्न सक्छ । उता अन्तर्राष्ट्रिय मुद्रा कोषले १७० देशको प्रतिव्यक्ति आय घट्ने प्रक्षेपण गरेको छ । सन् २००९ को आर्थिक मन्दीभन्दा पनि खराब हुने अनुमान गरिएको छ ।
यतिखेरको हाम्रो चिन्ता पनि यही नै हो । नेपालजस्ता विकासोन्मुख मुलुकलाई महामारीपछिको आर्थिक व्यवस्थापन बडो कठिन हुनेछ । हाम्रो उपभोगमुखी अर्थप्रणाली, आयात, राजस्व आदि रेमिट्यान्सको कमीले खुम्चिने नै छन् । हाम्रा गन्तव्य मुलुकले रोजगारी कटौती गर्ने क्रम शुरु हुनेछ । यसले पहिलो शिकार त हामीलाई नै बनाउने छ । हिजो हामीले स्वदेशमै केही गरौँ भनेर युवाशक्तिलाई उत्प्रेरित गर्नुको सट्टा ‘फ्रि भिसा फ्रि टिकट’मै विदेशिन प्रेरित ग¥यौँ । हिजो लहलह धानका बाला झुल्ने खेत बाँझै राख्यौँ, कामगर्ने जनशक्तिलाई विदेश पठाउने सजिलो बाटोमात्र खोज्यौँ र तिनले पठाएको रेमिटेन्सबाट देश चलायौँ । हाम्रो टेक्ने आधार माटो हो, धर्ती भन्ने थाहा हुदाहुदै हामी टुप्पोबाट पलायौँ, अर्काको भर पर्यौँ । त्यसैले त बनमारा फुलेका हाम्रा मलिला खेतका फाँटले हामीलाई धिक्कार्ने बेला आएको छ । हाम्रा पाखुरा र परिश्रम खोज्दैछ अब यस धर्तीले । अब विदेशबाट रेमिटेन्स पनि नआउने र स्वदेशमा अरु इलम पनि केही नहुने भएपछि धर्तीबाहेक हाम्रो कोही छैन, केही छैन ।
कोरोनाको हिजोआजको कहरले हामीलाई दिएको शिक्षा यही हो । यो मन्दीका कारण विश्वव्यापी रूपमा क्रयशक्ति घट्दा अब हाम्रा बासमा रात बिताउन गुणस्तरीय पर्यटकको आगमन दुर्लभै हुनेछ । देशको समग्र पर्यटन क्षेत्रकै आय घट्ने छ । यस्तो विश्वव्यापी मन्दीले हाम्रा योजना आयोजनाहरु समयमै सम्पन्न नहुन सक्छन् ।
विश्वका हाम्रा दाताहरु नै मन्दीमा फस्न सक्ने भएपछि अनुदानको पाटो पनि मक्किने नै देखिन्छ । यसले गर्दा नेपालमा विदेशी मुद्रा सञ्चिति घट्ने र शोधानान्तर घाटा बढ्ने हुनसक्छ । वैदेशिक सहायतामा आउने कमीले नेपालको आर्थिक क्षेत्रमात्र छुदैन यसले ओगटेका अनेकन सामाजिक आयामहरुमा पनि क्षति पुग्न जानेछ । त्यसैले वैदेशिक रोजगारीमा रहेको ठूलो जमात नेपाल फर्किने भएकोले यसलाई स्वदेशी कृषि उद्यममा लगाउन के गर्न सकिन्छ भन्ने बारेमा सरकारले अहिले नै सोच्दा राम्रो हुनेछ । अबको हाम्रो आधार भनेको पर्यटन र कृषि नै हो । त्यसो त हिजो पनि यही थियो तर हामीले जबर्जस्त नचिनेको मात्र हो । त्यसैले यतिखेर हामीले कोरोना प्रकोपबाट हाम्रो देशलाई मुक्त राख्न सक्यौँ भने भोलि हामीकहाँ विश्वका मानिस आउने छन् । हाम्रो नाम संसारमै आउनेछ । यतिखेर ठूला र आर्थिक तथा सामाजिक रुपमा अब्बल दर्जामा रहेका मुलुकहरुले पनि यो प्रकोप सामु केही गर्न नसकेको अवस्था देखिएकोले हामीले यसबाट बच्न सक्यौँ भनेमात्र पनि पुग्नेछ । यस नयाँ वर्षसँग हामीले यही कामना गरौँ । यही अपेक्षाका लागि हामी सबै लागौँ ।
यो सतहत्तर सालमा हामी सबै कोरोनाका कहरबाट मुक्ति पाउँदै सुख, शान्ति, समृद्धि र उन्नतिको मार्गमा अघि बढ्न सकौँ हाम्रो कामना छ । विगतमा जेजस्तो भए पनि सरकार पनि यसवर्ष यसतर्फ गम्भीर बनोस्, यो दैवी विपत्तिका विरुद्धमा लड्न सरकारले संसारमा रहेका नेपालीको साथ पाउन सकोस् र अघिल्ला वर्षहरुमा फगत नाराका रुपमा मात्र घन्काइएका समृद्धिका सपनाहरु अब विपनामै प्रकट होउन् । सबैमा नयाँ वर्षको यही कामना ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *