ताजा समाचार

लोकतान्त्रिक व्यवस्थामाथि खतरा आए देशभर आन्दोलन गर्ने सभापति देउवाको चेतावनी

शेरबहादुरको मात्र होइन ओलीको नडराई विरोध गर्नुहोस,शेरबहादुरमात्र प्रतिपक्ष होइन, प्रतिपक्ष कांग्रेस हो

काठमाडौं।नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस पराजित हुन्छ भनेर जान्दाजान्दै पनि मुलुक बचाउन आफू नेतृत्वको सरकारले तीनै तहको निर्वाचन सम्पन्न गरेको बताएका छन् । तीनै तहको निर्वाचनमा पार्टीभित्रैबाट भएको घातका कारण केही सीट गुमेको सभापति देउवाले बताए ।
नेपाल ट्रेड युनियन कांग्रेसको ७४ औं स्थापना दिवसको अपसरमा आयोजित शुभकामना आदन प्रदान कार्यक्रमा बोल्दै प्रमुख अतिथि देउवाले कम्युनिष्ट राज्य बनाउने खतरनाक खेलमा नेकपा नेतृत्वको सरकार लागेको आरोप लगाएका छन् । जनताको करबाट उठेको पैसाबाट तलव खाने कर्मचारी,सेना, प्रहरी नेकपाकरण भएको भन्दै सभापति देउवाले आपत्ति प्रकट गरे । देउवाले भने उनीहरुको काम त नागरिकको सुरक्षा र संविधानले दिएको अधिकार कार्यन्वयन गराउने हो । कम्युनिष्ट नेतृत्वको सरकारबाट लोकतान्त्रिक व्यवस्था माथि खतरा आए देशभर आन्दोलन गर्ने सभापति देउवाले चेतावनी दिए ।

प्रचण्डकी छोरी रेणु दाहाललाई चितवनमा समर्थन गरेर आफूले प्रचण्डको साथ लिएर अघि बढ्न खोजे पनि पार्टीकै साथीहरुको विरोधका कारण त्यो रणनीति सफल हुन नसक्दा अहिलेको अवस्था सिर्जना भएको विश्लेषण सभापति देउवाको थियो । सभापति देउवाले भने गिरिजाप्रसादले प्रचण्ड ल्याउदा विरोध नहुने मैले पार्टीकै हितमा ल्याउदा विरोध हुने ? आफूले पार्टी र मुलुककै हितका लागि त्यसबेला प्रचण्डसंग सहकार्य गर्न खोजेको सभापति देउवाले स्पष्ट पारे ।

कांग्रेसमा आफूले झगडा नल्याएको सभापति देउवाले पनि स्पष्ट पारे । सभापति देउवाले भने मैले पार्टीमा झगडा गरेर अघि बढेन खोजेको छैन तर, मलाई काम गर्न दिइरहनु भएको छैन ।
हिजोका दिनमा किशुन जी र गणेशमान जीलाई पार्टी छोड्न बाध्य पारियो तर मैले कसैलाई पार्टी छोड्ने अवस्था सिर्जना गरेको छैन सभापति देउवाले भने हिजोका दिनमा त संस्थापक नेताहरुले नै पार्टी छोड्नु पर्ने अवस्थाको सिर्जना गरिएको थियो । आज सबैलाई मिलाएर मैले लान खोजेको छु ।

सभापति देउवाले पौडेलतर्फ लक्षित गर्दै भने शेरबहादुरको खिलापमामात्र बोल्ने,ओली सरकाको खिलापमा पनि बोल्नु होस, शेरबहादुरमात्र प्रतिपक्ष होइन प्रतिपक्ष कांग्रेस हो । पार्टी जति कमजोर हुन्छ, हामि त्यतिनै कमजोर हुन्छौ त्यसतर्फ पनि सचेत हुनुहोस । सरकारका अप्रजातान्त्रिक कामको विरोध गर्न देउवाले सबैलाई आग्रह गरे ।
बाहिर आएजस्तो संसदमा कांग्रेसको भूमिका कमजोर नभएको बताए । सडकमा कांग्रेसले रेलिङ नभाचे पनि संसदीय अभ्यास अनुरुप संसदमा कांग्रेसले प्रभावकारी भूमिका खेलेको सभापति देउवाले स्पष्ट पारे ।
ट्रेड युनियनको भूमिका व्यापक रहेको भन्दै सभापति देउवाले ट्रेड युनियनकर्मीको हक हितका लागि जस्तोसुकै कार्य गर्नपनि पार्टी तयार रहेको बताए । विश्वव्यापी रुपमा महामारीको रुप लिएको कोरोना भाइरसबाट बच्न सबैलाई अपील गरे । सभापति देउवाले त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना समेत गरे ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टले जनमतको दुरुपयोग गरेर देशलाई बर्वाद पारेको आरोप लगाए ।नेता पौडेलले प्रजातन्त्रिक व्यस्था माथि चुनौति देखा परेको भन्दै देश र पार्टीको परिस्थितिसंग नेतृत्व गम्भीर भएर अघि बढ्नु पर्ने बताए ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले संविधानको गलत प्रयोग गरेर एकदलीय व्यवस्था लाद्न खोजेकाले कांग्रेसले संघर्षको मैदानमा उत्रिनु पर्ने बेला आएको बताए । कम्युनिष्ट सरकारका कारण व्यवस्था नै दुर्घटनामा पर्न लागेको भन्दै नयाँ रणनीतिका साथ अघि बढ्नु पर्ने नेता सिटौलाले बताए ।

ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यको सभापतित्वमा भएको कार्यक्रममा युनियनका पूर्व अध्यक्ष लक्ष्मण बस्नेत, खिलानाथ दाहाल, व्युटिसियन संघकी अध्यक्ष भगवती खड्का,युनियनका उपाध्यक्ष तेजेन्द्रजंग कार्की लागयतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा अग्रज ट्रेडयुनियनकर्मी तथा नेपाली कांग्रेसकी आमन्त्रित केन्द्रीय सदस्य रमा पौड्यालको समेत उपस्थिति थियो ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *