ताजा समाचार

काठमाडौंलगाएत देशभर वर्षा, ‘हिउँदे वर्षा अझै लम्बिन्छ’- मौसमविद्

काठमाडौं । अहिले काठमाडौं लगाएत देशका अधिकांश क्षेत्रमा हल्का वर्षा भइरहेको छ । देशका पश्चिमी भू(भागमा सामान्य देखि पूर्ण बदली रही बाँकि स्थानहरुमा सामान्य बदलि रही देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमालीका अधिकांश भू-भागमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विज्ञप्तीका भनिएको छ ।

त्यस्तै महाशाखाले यस वर्षको हिउँदे वर्षा लम्बिने जनाएको छ। छिटो हिउँदे वर्षा सुरु भएर पनि यस वर्षको हिउँदे वर्षा लम्बिने सम्भावना बढेको हो। हिउँदे वर्षा कायम रहेका बेला तापक्रममा ह्वात्तै गिरावट नआए पनि चिसो भने लामै समय रहने अनुमान महाशाखाले गरेको छ।
महाशाखाका मौसमविद् बरुण पौडेलका अनुसार, अझै पनि हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणाली सक्रिय रहेकाले थप वर्षा हुने क्रम जारी रहनेछ । पौडेलले भने, “दुई–तीन दिन कायम रहेर छिटो वर्षा सकिने तर फेरि अर्को वर्षा भइहाल्ने खालको वर्षा चक्र चलिरहेको छ। औसतमा गएको वर्षभन्दा यसपटकको वर्षाको दर पनि बढेको छ।”

सोमबारबाट नेपाल छिरेको मौसमी प्रणालीको असरले मङ्गलबारदेखि नै देशभर बदलीको अवस्था कायम रह्यो । बुधबार बिहानैदेखि देशका विभिन्न भूभागमा वर्षा सुरु भएकोभ आज पनि वर्षा हुने मौसमविद् पौडेलले जानकारी दिए ।
शुक्रबारदेखि भने मौसम केही खुल्नेछ। तर नयाँ न्यूनचापीय प्रणाली पश्चिमबाट प्रवेश गर्ने तयारीमा रहेको छ। नेपालको सिमानातिर लम्कँदै गरेको त्यो न्यूनचापीय प्रणालीले फेरि सोमबारदेखि वर्षाको सङ्केत गरिरहेको मौसमविद् पौडेलले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *