
काठमाडौं । नयाँ वर्षको पहिलो दिन लुम्बिनीमा आन्तरिक पर्यटकको ओइरो लागेको छ । गौतमबुद्धको जन्मस्थल मायादेवी मन्दिरलगायत कोषको हाताभित्र रहेका सबै गुम्बामा दर्शनार्थीको घुइँचो लागेको हो ।
मायादेवी परिसर, केन्द्रीय नहर, गुम्बाहरूमा आन्तरिक एवं भारतीय पर्यटकको भरिभराउ थियो । आन्तरिक पर्यटक र भारतीय पर्यटक भ्रमणको केन्द्रका रूपमा लुम्बिनी रहेको छ । लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार वर्षको पहिलो दिउँसो ३ बजेसम्म १० हजारभन्दा बढी दर्शनार्थीले मायादेवी मन्दिरको अवलोकन गरेका छन् ।
विश्व शान्तिको केन्द्रका रूपमा रहेको लुम्बिनी भगवान् गौतमबुद्धको जन्मस्थल हो । आफ्नो नयाँ वर्षको सुरुआत यहीबाट गर्ने धेरै नेपालीको चाहना हुन्छ । यसले पनि नयाँ वर्षमा लुम्बिनीमा आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढाएको छ ।
“लुम्बिनीको परिचय नै पर्याप्त छ, नेपालीको पहिचान विश्वमा नै चिनाएको कारण यहीँबाट नयाँ वर्षको सुरुआत गर्ने सोच बनाएँ”, पश्चिम नवलपरासी बर्दघाटका कमलकिशोर रायमाझीले भने , “अहिले यहाँ मजस्ता पर्यटकको घुइँचो देखेर निकै रमाइलो लागेको छ ।”
विसं २०७० को दशकमा नेपाल भूकम्पको त्रासदीदेखि कोभिड र आर्थिक मन्दीको मार खेपेकाले नेपालमा शान्ति र खुसी छाओस् भन्दै नेपालीहरूले कामना गरेका छन् । यससँगै नेपालमा राजनीतिक स्थिरता र पर्यटन क्षेत्रको विकासका लागि पनि दर्शनार्थीले लुम्बिनीबाट कामना गरेका छन् ।
गुल्मी हर्मिचौरका तुलासिंह पाण्डे भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा एकपटकको भ्रमणले मात्र चित्तै नबुझ्ने बताउँछन् । उनले पहिलेको तुलनामा लुम्बिनीमा धेरै विकास भएको बताउँदै पटकैपिच्छे आउँदा लुम्बिनीमा परिवर्तन आउने गरेको सुनाए । सरसफाइलगायत अन्य व्यस्थापन राम्रो रहेको उनले प्रतिक्रिया दिए ।
लुम्बिनी विकास कोषले लागू गरेको ई–टिकटका कारण भने कतिपय पर्यटकले भने सास्ती खेपेको बताए । बर्दिया बढैयाताल गाउँपालिका–७ का चुडामणि अर्यालले अर्घाखाँचीको सुपादेउराली हँुदै लुम्बिनी आएको बताए । उहाँ पछिल्लोपटक २०५६ मा लुम्बिनीमा आउनुभएको थियो । त्यसयता लुम्बिनीमा धेरै परिवर्तन भइसकेको अर्यालले बताए । “ई–टिकटको व्यवस्था रहेको जानकारी पायौँ, तर मोबाइलबाट टिकट लिन खोज्दा भएन”, उनले गुनासो गरे , “टिकटकै लागि धेरै बेर भौतारिनुपर्यो, कोषले यसमा सुधार गर्नुपर्छ ।”
लुम्बिनी विकास कोषले रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) र कपिलवस्तुका नागरिकबाहेक अन्यलाई मायादेवी मन्दिर दर्शनका लागि शुल्क तोक्दै टिकटको व्यवस्था गरेको छ ।