काठमाडौं । प्रहरी प्रधान कार्यालयले रौतहटका एसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तानेको छ ।
रौतहटका स्थानीय पत्रकार मोजिबुल्लाहलाई लागुऔषध मुद्दामा फसाइएको घटनामा संलग्न रहेको आशंकामा उनलाई प्रहरी प्रधान कार्यालय तानिएको जनाइएको छ ।
पत्रकार मोजिबुल्लाहलाई उनको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोजिएको घटनामा एसपी शाहको समेत संलग्नता हुनसक्ने आशंका देखिएपछि शाह प्रहरी प्रधान कार्यालयको प्रशासन शाखामा तानिएका हुन् ।
गत साउन ३२ गते मोजिबुल्लाहको बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकलबाट प्रहरीले रौतहट सदरमुकाम गौरमा लागुऔषध नाइट्राभेट १०५ ट्याब्लेट बरामद गरेको भन्दै पक्राउ गरेर सार्वजनिक गरेको थियो । तर पत्रकार मोजिबुल्लाहको संलग्नता प्रमाणित नभएपछि उनलाई सोमबार छाडिएको थियो ।
घटनाको दोषीलाई गर्न र पत्रकारलाई झुटा मुद्धामा आरोपित गरिएको भन्दै नेपाल पत्रकार महासंघ केन्द्र र जिल्लाले समेत छानविन गर्न माग गरेका छन् ।




