महोत्तरी । विगत १० दिनदेखि निरन्तररुपमा चलेको चिसो हावा र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि नेपाली सेनाले आज बिहानै महोत्तरीको सदरमुकाम जलेश्वरका विभिन्न स्थानमा दाउरा उपलब्ध गराएर न्यानोको लागि आगो बालेको छ ।
जलेश्वरमा अवस्थित नेपाली सेनाको रणभीम गणले जलेश्वर नपाको वडा नं १, २ र ६ का विभिन्न चोक र टोल बस्तीमा सर्वसाधारणलाई न्यानो बाँड्ने उद्देश्यले आगो बालेको गणपति शिवहरि केसीले बताए ।
नेपाली सेनाले जलेश्वरको नगरपालिका चोक, शङ्करचोक, दुर्गाचोक, खैराचोक, बुद्धिजीवि चोक, अस्पताल चोक, जिरोमाइल चोक, डोमटोल, दुषाध टोल, मुसहर टोललगायतका ठाउँमा आगो बालेर जलेश्वर नगरपालिकाका आम नागरिकलाई जाडोबाट जोगाउने काम गरेको छ । जिल्लाभरि नै जाडोले जनजीवन प्रभावित भइरहेका बेला नेपाली सेनाले सदरमुकाममा दाउराको व्यवस्था गरी ठाउँठाउँमा आगो बालेपछि स्थानीयले राहत महसुस गरेका छन् ।
आगलागीमा रु १० लाख क्षति
महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा गएराति भएको आगलागीमा १० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीका अनुसार जलेश्वर नगरपालिका– ३ बस्ने लगन राय र मटिहानी नगरपालिका– २ बस्ने जकी शेषको घरमा भएको आगलागीमा रु १० लाख बराबरको क्षति भएको हो ।
राति १०ः३० बजेतिर लगन रायको घरमा विद्युत् चुहिएर भएको आगलागीमा परी नगद रु एक लाख, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, चार चौपाया र दुईकोठे घरसहित पाँच लाख ९५ हजारको क्षति भएको छ ।
मध्यरातमा जकी शेषको घरमा भएको आगलगीमा परी नगद, दुई वटा चौपाय, कुखुरा र चल्ला, साँखुको काठ, खाद्यान्न लत्ताकपडा, भाँडाकँुडा र दुई कोठे घरसहित तीन लाख ७४ हजारको क्षति भएको हो ।
दुवै आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको प्रहरी तथा स्थानीय, प्रहरी र जलेश्वर नगरपालिकाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।




