सप्तरी । जिल्ला प्रहरी कार्यालयका प्रमुख सहित १७ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कार्यालय प्रमुख ४४ वर्षीय प्रहरी उपरीक्षक, ४५ वर्षीय प्रहरी नायव उपरीक्षक सहितअन्य १७ जनालाई कोरोना सङ्क्रणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा उनीहरुकोे पिसिआर परीक्षण गरिएको बताइएको छ । अहिले उनीहरु होम आइसोलेशनमा बसेकाे जनाइएको छ । सप्तरीमा हालसम्म ५७ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी साढे तीन सय कैदीबन्दी रहेको जिल्ला कारागारमा रहेका ९ जना कैदीबन्दी र दुई प्रहरीमा आज कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमित कैदीबन्दीको सङ्ख्या १५ पुगेको छ ।
आज नै गरिएको परीक्षणमा गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत एक नर्स र १ स्वीपर समेत कोरोना सङ्क्रमित भएका छन् । उनीहरु ३३ र ३८ वर्षीया महिला हुन् । यसैगरी राजविराज नगरपालिका–३ का ७१ वर्षीय र ६ का २८ वर्षीय पुरुष समेत सङक्रमित भएका छन् । जिल्लामा सङ्क्रमितको सङ्ख्या १६६ महिलासहित ९९१ पुगेको छ । ती मध्ये एक महिलासहित ८ जनाको मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजितकुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ६८२ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् ।




