काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनलाई लिएर विवाद बढ्दै गएको छ। पार्टीको संस्थापन पक्षले महामन्त्रीद्वयद्वारा आह्वान गरिएको विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै त्यसको वैधता माथि प्रश्न उठाएको छ।
यसैबीच, कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन पक्षधर नेताहरूलाई पार्टी एकताको पक्षमा उभिन आह्वान गर्ने तयारी गरेका छन्। सभापति शेरबहादुर देउवा निवासमा बसेको संस्थापन पक्षको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा देउवाले खड्कालाई यही जिम्मेवारी दिन निर्देशन दिएका थिए।
पार्टी स्रोतका अनुसार खड्काले केहीबेरमा पार्टी एकताको महत्त्व र सहकार्यको पक्षमा महाधिवेशन पक्षधरलाई सम्बोधन गर्नेछन्। यस कदमलाई संस्थापन पक्षले आन्तरिक विवाद कम गर्ने र पार्टीमा विश्वासको वातावरण कायम गर्ने प्रयासको रूपमा हेरिएको छ।
यसैबीच सभापति देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूसँग पनि विशेष महाधिवेशन र आगामी रणनीति विषयक छलफल गरिरहेका छन्। पार्टीको एकता र वैधानिकता सुनिश्चित गर्न संस्थापन पक्ष सक्रिय देखिएको छ।




