काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई स्थायी राजनीतिक समाधान दिन प्रधानमन्त्री सुशीला कार्कीले राजा, राजनीतिक दल र जेन–जी पुस्तालाई समेटेर सर्वपक्षीय राष्ट्रिय सम्मेलन आयोजना गर्नुपर्ने सुझाव दिएका छन्।
मंगलबार काठमाडौंमा आयोजित राप्रपाको प्रदर्शनपछि जनसभालाई सम्बोधन गर्दै लिङ्देनले देश संकटतर्फ जाँदै गएको भन्दै प्रधानमन्त्रीले पहलपूर्वक राष्ट्रिय संवादको नेतृत्व लिनुपर्ने धारणा राखे।
“तपाईं ठूलो रक्तपातपछि प्रधानमन्त्री बन्नुभएको छ। मध्यावधि चुनाव गर्न मात्र यो पद आएको होइन—देशलाई निकास दिन तपाईंको काँधमा ऐतिहासिक जिम्मेवारी छ,” उनले भने, “त्यसैले राजा, दल र नयाँ पुस्तालाई एउटै मञ्चमा ल्याएर सर्वपक्षीय सम्मेलन सुरु गर्नुस्।”
‘अहिलेभन्दा ठूलो द्वन्द्व देशले थेग्दैन’
लिङ्देनले राजनीतिक अस्थिरता र सामाजिक तनाव बढ्दै गएको दाबी गर्दै अब सबै पक्षले पूर्वाग्रह, अहंकार र आपसी आरोप–प्रत्यारोप त्यागेर सहमतिमै जाने समय आएको बताए। “ठूला दलका केही नेताहरूले बोल्न थालेका छन्। तर अब पार्टीले आधिकारिक निर्णय लिएर संवादको बाटो खोल्नुपर्छ,” उनले आग्रह गरे।
देशको दीर्घकालीन स्थायित्वका लागि शासन संरचनामा स्पष्ट परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै लिङ्देनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय भूमिकामा राजा रहने संयोजन नै सबैभन्दा व्यवहार्य विकल्प भएको जिकिर गरे। “अब यही मॉडेलमा अघि बढौं। यसको विकल्प छैन,” लिङ्देनले भने। राप्रपा अध्यक्षले प्रधानमन्त्री कार्कीलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्दै भने—“देश गम्भीर मोडमा छ। प्रधानमन्त्रीज्यू, राष्ट्रहितमा निर्णायक पहल तपाईंले नै लिनुपर्छ।”




