राजनीति

एमाले ओखलढुंगामा सहमतिको टुंगो : विवादपछि १२ महाधिवेशन प्रतिनिधि चयन

काठमाडौं । नेकपा एमाले ओखलढुंगामा महाधिवेशन प्रतिनिधि चयनलाई लिएर देखिएको लामो विवाद अन्ततः सहमतिमार्फत समाधान भएको छ । पार्टीको केन्द्रीय नेतृत्वको पहलमा सर्वसम्मत रूपमा १२ जना महाधिवेशन प्रतिनिधि टुंगो लगाइएको हो ।

कोशी प्रदेश इन्चार्ज शेरधन राई र संगठन विभाग सदस्य विशाल भट्टराईसहितका नेताहरूको सक्रिय समन्वयमा विवाद मिलाइएको हो । यसअघि एकपक्षीय रूपमा अघि बढाइएको प्रतिनिधि छनोट प्रक्रिया खारेज गर्दै केन्द्रीय संगठन विभागले पाँच दिनभित्र पालिकास्तरमा निर्वाचन वा सहमतिका आधारमा प्रतिनिधि चयन गर्न जिल्ला इन्चार्ज यज्ञराज सुनुवार र किशोर अधिकारीसहितको टोलीलाई जिम्मेवारी दिएको थियो ।

लगातारको छलफलपछि मंसिर १३ गतेको प्रक्रियालाई बहिष्कार गरेको समूहलाई चार महाधिवेशन प्रतिनिधिको हिस्सा दिएर सहमति जुटाइएको पार्टी स्रोतले जनाएको छ । सहमतिको भागमा पूर्व जिल्ला कमिटी अध्यक्ष मोहनकुमार श्रेष्ठ, लिखु गाउँपालिका उपाध्यक्षसमेत रहेकी जिल्ला उपसचिव अस्मिता थापा, संविधानसभा सदस्य हर्कबोल राई र सकुन्तला राजभण्डारी चयन भएका छन् ।

यसअघि नै चयनको सूचीमा परेका प्रतिनिधिमा जिल्ला अध्यक्ष जीबी खड्का, कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङ, जिल्ला उपाध्यक्ष कमल न्यौपाने, इच्छाकुमारी गुरुङ, उपसचिव राजीव कटुवाल, रमिला मगर श्रेष्ठ, टीका धमला र ज्यानु कालिकोटे रहेका छन् ।

आइतबार काठमाडौंमा दिनभर चलेको नेतृत्व तहको छलफलपछि सहमतिको अन्तिम रूप दिएको जनाइएको छ । सबै महाधिवेशन प्रतिनिधिको नाम संगठन विभागमा पठाइसकिएको संगठन विभागका सहजकर्ता विशाल भट्टराईले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *