काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा बनेको नयाँ सत्ता संरचनाले देशका अन्य प्रदेशहरूमा पनि प्रत्यक्ष प्रभाव पार्ने दाबी गरेका छन्।शनिबार जनकपुरमा आयोजित पार्टीको मधेश प्रदेशस्तरीय एकता सन्देशसभामा उनले मधेशमा सरकार गठनका क्रममा पुराना राजनीतिक बन्दोबस्त भत्किएर नयाँ शक्ति संयोजन उदाएको उल्लेख गरे। उनका अनुसार यही परिवर्तन अब अन्य प्रदेश सरकारका समीकरणतर्फ पनि विस्तार हुँदै जानेछ।
‘मधेशले परम्परागत शक्ति समिकरणलाई पछाडि पार्दै कम्युनिस्ट, मधेशवादी दल र नेपाली कांग्रेस मिलेर नयाँ सरकार बनाएको छ,’ प्रचण्डले भने, ‘यही नयाँ अभ्यास अन्य प्रदेशमा पनि दोहोरिनेछ र देशको राजनीतिक दिशा पुनः परिभाषित हुनेछ।’
उनले जेनजी आन्दोलनलाई मुलुकका राजनीतिक दलहरूको आत्मसमिक्षासँग जोड्दै, त्यसपछि व्यापक रूपान्तरणका लागि अघि बढ्न एकीकृत प्रयास गरिएको बताए। जनताको जीवनस्तरमा अपेक्षित सुधार नआएकै कारण आन्दोलन उठेको र यसलाई सुधारको मौका रूपमा लिनुपर्ने टिप्पणी उनका थियो।
प्रचण्डले प्रतिगमनलाई परास्त गर्दै मुलुकलाई स्थिर दिशातर्फ लैजान सबै प्रगतिशील शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता दोहोर्याए। एमालेभित्र रहेका बामपन्थी धारका नेतादेखि अन्य कम्युनिस्ट दलहरूसमेतलाई नेकपाभित्र एकताबद्ध गर्दै लैजाने प्रतिबद्धता उनले व्यक्त गरे।
त्यसबाहेक, मधेश प्रदेशका प्रमुख विकास आयोजनाहरू कम्युनिस्ट नेतृत्वको सरकारले सुरु गरेको उल्लेख गर्दै ती योजनालाई सफल निष्कर्षमा पुर्याउने जिम्मेवारी पनि कम्युनिस्ट सरकारकै हुने उनले दाबी गरे।




