काठमाडौं। जेनजी आन्दोलनपछि नेपाली कांग्रेस र एमाले महाधिवेशनको तयारीमा जुटेका छन् भने नेकपामा महाधिवेशनको मितिमा स्पष्टता देखिएको छैन। कांग्रेस र एमालेले नेतृत्व हस्तान्तरण र आगामी कार्यकालका लागि महाधिवेशनको मिति तोकेका छन्। तर नेकपा र अन्य साना दलहरू आन्तरिक विवाद र चुनाव तयारीको कारण महाधिवेशन सार्ने वा स्थगित गर्ने अवस्थामा छन्।
कांग्रेसले डेढ महिनाको लामो छलफलपछि १५औँ महाधिवेशन मिति २६–२८ पुस तोकेको छ। सभापतिमा शेरबहादुर देउवाका दुई कार्यकाल पूरा भइसकेकाले नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा हुने देखिन्छ। विधानले दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नदिने व्यवस्था गरेको छ। १४औँ महाधिवेशन २०७८ मंसिरमा सम्पन्न भएको थियो।
एमालेले पनि ‘अर्ली’ महाधिवेशन गर्ने निर्णय गर्दै ११औँ महाधिवेशन यही २७–२९ मंसिरमा तय गरेको छ। गत महाधिवेशन १०औँ २०७८ मंसिरमा चितवनमा सम्पन्न भएको थियो। महाधिवेशन प्रतिनिधि चयन पनि यसै साता सम्पन्न गरिएको छ।
यो महाधिवेशनमार्फत एमाले अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालका लागि प्रतिस्पर्धामा रहने देखिन्छ। विधानले उनलाई तेस्रो कार्यकालका लागि बाटो खुलेको छ भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदका लागि चुनौती दिने तयारी गरेका छन्।
यसरी पुराना दलहरूमा नेतृत्व हस्तान्तरणको बहस तीव्र भइरहेकै बेला नेकपासहित केही अन्य दलमा महाधिवेशन र नेतृत्व चयनको मितिमा अझै अन्योल कायम रहेको छ।




