राजनीति

एमालेको ११औं महाधिवेशन काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेले आफ्नो ११औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ। शनिबार सम्पन्न सचिवालयको ५९औं बैठकले यसअघि पोखरामा गर्ने पूर्वनिर्णय सच्याउँदै मंसिर २७ देखि २९ गतेसम्म राजधानीमै महाधिवेशन आयोजना गर्ने टुंगो निकालेको हो।

महाधिवेशनको उद्घाटन समारोह खुलामञ्चमा र बन्दसत्र ९निर्णायक सत्र० भृकुटीमण्डपमा गर्ने तयारी भएको महासचिव शंकर पोखरेलको सचिवालयले जानकारी दिएको छ। एमालेले यसअघि महाधिवेशन पोखरामा गर्ने घोषणा गरेको थियो। तर, पछिल्लो निर्णयले पार्टीले राजधानीमा आफ्नो संगठनिक शक्ति प्रदर्शन गर्न चाहेको संकेत दिएको विश्लेषण गरिएको छ। पोखरेलको सचिवालयका अनुसार, “काठमाडौंको भृकुटीमण्डपमा ठूलो संख्यामा प्रतिनिधि, कार्यकर्ता र समर्थकहरूको उपस्थिति सुनिश्चित गर्न सजिलो हुने भएकाले स्थान परिवर्तन गरिएको हो।”

पार्टीले उद्घाटनका लागि खुलामञ्च रोजे पनि त्यसको प्रयोग अझै सुनिश्चित छैन। काठमाडौं महानगरपालिकाले पुनर्निर्माणकार्यका कारण खुलामञ्च हाल सार्वजनिक कार्यक्रमका लागि खुला गरेको छैन। यदि सो मिति भित्र खुलामञ्च प्रयोगका लागि उपलब्ध भएन भने उद्घाटन पनि भृकुटीमण्डपमै गर्ने तयारी रहेको एमाले स्रोतले जनाएको छ। भृकुटीमण्डपको चौर र कभर्ड हल प्रयोग गर्नका लागि एमाले केन्द्रीय कार्यालयले व्यवस्थापन समितिलाई पत्राचार गर्ने र आवश्यक शुल्क बुझाउने तयारी गरेको छ। त्यहाँ टेण्ट लगाएर अस्थायी सभा हल निर्माण गर्ने, कभर्ड हललाई खानपानका लागि मेसका रूपमा प्रयोग गर्ने र मतदान तथा मतगणनाका लागि राष्ट्रिय सभागृह प्रयोग गर्ने योजना छ।

महाधिवेशन अवधिमा प्रदर्शनी मार्गमा सर्वसाधारणको आवागमनमा अवरोध नहुने गरी व्यवस्थापन गर्न पनि निर्देशन दिइएको छ। एमालेले यसअघि सन् २०१४ (२०७१ असार २५–२७) मा आयोजना गरेको नवौं महाधिवेशन पनि यही भृकुटीमण्डप परिसरमा सम्पन्न गरेको थियो। त्यही महाधिवेशनबाटै केपी शर्मा ओली पहिलो पटक पार्टी अध्यक्ष बनेका थिए। त्यसै कारण ११औं महाधिवेशन फेरि त्यही स्थानमा आयोजना हुनुलाई ओली नेतृत्वको “ऐतिहासिक पुनरावृत्ति” र शक्ति प्रदर्शनको सन्देशका रूपमा पनि हेरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, राजधानीमा महाधिवेशन स्थल सार्ने निर्णय केवल व्यवस्थापनगत कारण होइन, राजनीतिक सन्देश पनि हो।
यो कदमलाई एमालेले सत्ता समीकरण र राष्ट्रिय राजनीतिको केन्द्रमा आफ्नो उपस्थिति झनै बलियो बनाउने प्रयासको रूपमा अर्थ्याइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *