संसद

महेन्द्र यादवमाथि भएको आक्रमणको घटना सामसुम पार्न खोजिएको भन्दै गगनको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणका सबै पक्षको छानबिन गर्न माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकको सुरुमै आकस्मिक समय लिएर बोलेका थापाले एउटा सन्काहाले सन्केर हान्यो भन्ने भाष्य निर्माण गरी घटनालाई सामसुम पार्ने कोसिस भइरहेको दाबी गरे।

पछिल्लो समय देखिएको उदण्डताबारे थापाले आक्रोश व्यक्त गरेका छन् । उनले देशमा चरम अराजकता फैलिएको भन्दै अब कसैले एक्लै हिँड्न नहुने हो भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

‘म गृहमन्त्रीलाई सोध्न चाहान्छु– के हामीले अब काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ। हामी एक्लै हिँड्न हुने हो कि नहुने हो ?’ उनले भने।

बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएर निस्कने क्रममा कांग्रेस सहमहामन्त्री यादवमाथि एक व्यक्तिले खुकुरी प्रहार गरेका थिए।

नुवाकोट घर भएका श्याम सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका छन् । सापकोटा राप्रपाका नेता हुन् । उनले यसअघि पनि पटकपटक धेरै व्यक्तिमाथि आक्रमण गरिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *