काठमाडौं । सांसदहरूले संसदीय समितिको सभापति निर्वाचनको मिति तोक्न सभामुख देवराज घिमिरेलाई दबाब दिएका छन् । शुक्रबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उपस्थित सांसदहरूले सभापति चयनका लागि सभामुखले चाँडो मिति तोक्न माग गरेका हुन् । यदि सभामुखले पहल नगरेमा संसदीय समितिको सभापति निर्वाचनको मिति घोषणा गर्न आफूहरू लाग्ने उनीहरूको भनाइ छ ।
लामो समयदेखि शीर्ष नेताहरूको सहमति कुरेर बसेका सभामुख घिमिरेले संसदीय समितिको सभापतिको निर्वाचनको मिति घोषणा गर्नसकेका छैनन् । सभापति नहुँदा संसदीय समितिको कामकारबाही मर्यादित नबेकाले अब सभामुखले गर्ने काम सांसद आफैले गर्ने विषयमा संसदमा कुरा उठेको छ । सभामुखले सरकारमा रहेर समयमा नै निर्णय गर्न नसक्दा सबैलाई द्विविधा भएको सांसदहरू बताउँछन् ।
तीन महिनासम्म पनि संसदीय समितिको सभापति निर्वाचनको मिति घोषणा गर्न नसक्नुले पनि सभामुखले जिम्मेवारी बहन गर्न नसकेको सांसदहरूको भनाइ छ । गत वैशाख १५ गते संसदीय विषयगत समितिको गठन भएको थियो ।
संसदीय समितिको सभापतिको निर्वाचनको मिति घोषणा गर्न दलहरूले असहमति जनाएमा आफै लाग्नुपर्ने जसपाकी सांसद रञ्जुकुमारी झाको भनाइ छ । उनले सीमित उम्मेदवार निर्वाचनका लागि उठ्ने र सभापति चयन गरेर नयाँ अभ्यासलाई प्राथमिकता दिनुपर्ने प्रस्तावसमेत राखिन् ।
सभापतिको चयन नभएपछि संसदीय समिति कमजोर बनाउने रणनीतिमा कोही पनि लाग्न नहुने उनले बताइन् । निर्वाचन सम्पन्न भएको सात महिनासम्म संसदीय समितिको सभापतिसमेत चयन गर्न नसक्दा संसदले आलोचना भोग्नुपरेको बताउँदै झाको प्रस्तावलाई कांग्रेस सांसद रामहरि खतिवडाले पनि समर्थन गरे ।
सभापतिको अभावमा समितिका महत्वपूर्ण विधेयक र समितिमा उठेका प्रश्नहरूको जवाफ दिने ठाउँ नभएको उनले बताए । उनका अनुसार संसदीय समितिको सभापतिको निर्वाचनको मिति चाँडै घोषणा गरेर सभापतिको चयन गर्न सकेको अवस्थामा मात्रै संसदीय गतिविधि मर्यादित र सबल हुन्छन् ।
एमाले संसदीय दलका उपनेता सुवास नम्वाङले पनि चाँडो संसदीय समितिको सभापति निर्वाचनको मिति घोषणा गर्नुपर्नेमा जोड दिएका छन् । यसै क्रममा उनले गत असार महिनामै संसदीय समितिको विषयगत समितिका शीर्ष नेताहरूले आफूलाई सभापतिमा चयन गर्ने बताएकोसमेत बताए । तर साउन लाग्दा पनि सो विषयको कुरा नै नउठेको उनको भनाइ छ । सभापति चयन गर्न नसकेपछि बाहिर आलोचना भइरहेकोसमेत नेम्वाङले बताए ।
संसदीय समितिको सभापति चयन भइसकेपछि खाली भए पहिलो बैठक बसेको १५ दिनभित्र सभापतिको निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, पहिलोपटकका लागि भने सभामुखले नै सभापतिको निर्वाचनको मिति तोक्नुपर्ने उल्लेख छ । सभामुख घिमिरेले आगामी साउन १० गतेको प्रतिनिधिसभा बैठकअघि नै संसदीय समितिका सभापति टुंगो लागिसक्ने बताएका छन् ।




