देश

चाडपर्व लक्षित सुरक्षा व्यवस्था चुस्त बनाउन आईजिपी कार्कीको निर्देशन

काठमाडौं। नेपाल प्रहरी महानिरीक्षक आईजिपी दानबहादुर कार्कीले चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन देशभरका प्रहरी कार्यालय प्रमुखहरूलाई आवश्यक निर्देशन दिएका छन् ।

भर्चुअल कन्फरेन्समार्फत आयोजित कार्यक्रममा उनले उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, तालिम केन्द्र, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय तथा गण र गुल्मका प्रमुखहरूलाई समसामयिक विषय र चाडपर्व सुरक्षा योजनाबारे निर्देशन दिएका हुन् । कार्यक्रममा प्रहरीका विभागीय प्रमुखहरूको समेत उपस्थिति थियो ।

आईजिपी कार्कीले चाडपर्वका बेला हुन सक्ने सम्भावित सुरक्षा चुनौती पहिचान गरी समयमै नियन्त्रण गर्न आवश्यक जनशक्ति परिचालन गर्न निर्देशन दिएका छन् । नागरिकको आवागमन सहज बनाउने, यातायात व्यवस्थापन प्रभावकारी बनाउने तथा शान्ति सुव्यवस्था कायम राख्ने विषयलाई उनले प्राथमिकतामा राखेका छन् ।

दशैं, तिहार र छठजस्ता ठूला चाडपर्वमा यात्रुको चाप बढ्ने, बजारमा भीडभाड हुने तथा चोरी, लुटपाट र अन्य आपराधिक गतिविधिको जोखिम बढ्न सक्ने भएकाले प्रहरीको सक्रियता आवश्यक हुन्छ । यस्तो अवस्थामा सुरक्षा योजना कागजमा सीमित नराखी कार्यक्षेत्रअनुसार जनशक्ति परिचालन, नियमित गस्ती, निगरानी र छिटो प्रहरी सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण पक्ष हो ।

विशेषगरी राजमार्ग तथा मुख्य बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन, सार्वजनिक यातायातमा यात्रुको सुरक्षा र सीमावर्ती क्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रणमा सम्बन्धित प्रहरी इकाइबीच समन्वय आवश्यक देखिन्छ ।

आईजिपी कार्कीले चाडपर्वका समयमा देखिन सक्ने सुरक्षा चुनौती नियन्त्रण गर्दै नागरिकलाई सुरक्षित वातावरणको प्रत्याभूति दिलाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । अब प्रहरीको निर्देशन कार्यान्वयन, प्रभावकारी गस्ती र नागरिकमैत्री सेवा प्रवाहले चाडपर्वको सुरक्षा व्यवस्थापन कति प्रभावकारी हुन्छ भन्ने महत्त्वपूर्ण हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *