कास्की । पोखरा महानगरपालिकाले पोखरा–२८ कालिकास्थित ओख्लेको भिरमा भएको स्कुल बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
महानगरपालिकाले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा समिति गठन गरेको हो । समितिका सदस्यमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई रहेका छन् ।
समितिलाई दुर्घटनाको कारण तथा घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन र छानबिन गरी पाँच दिनभित्र सत्यतथ्यसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।
माझठानाबाट विद्यार्थी बोकेर आएको कालिका बोर्डिङ स्कुलको बस कालिकास्थित ओख्लेको भिरमा दुर्घटना हुँदा चार विद्यार्थी र एक अन्य व्यक्तिसहित पाँच जनाको मृत्यु भएको थियो । दुर्घटनामा १४ जना विद्यार्थी घाइते भएका छन् ।
महानगरपालिकाका प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यका अनुसार दुर्घटनाको कारण पहिचान गर्नुका साथै घटनासँग सम्बन्धित विषयको विस्तृत अध्ययन गर्न समिति गठन गरिएको हो । समितिले आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायसहित सुझावसमेत पेस गर्नेछ ।
समितिले विद्यालयका सवारीसाधनको सुरक्षा अवस्था, विद्यार्थीको सुरक्षित आवागमन र भविष्यमा अपनाउनुपर्ने सावधानीका विषयमा पनि अध्ययन गरी सुझाव दिनेछ ।
दुर्घटनाप्रति दुःख व्यक्त गर्दै नगरप्रमुख आचार्यले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइते विद्यार्थी, चालक तथा सहचालकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
विद्यार्थीको सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उनले विद्यालयका सवारीसाधनको नियमित जाँच, निर्धारित सुरक्षा मापदण्डको कडाइका साथ पालना र प्रभावकारी अनुगमन गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।




