इलाम। मेची राजमार्ग र मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक)मा आजदेखि रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामले सूचना जारी गर्दै असोज ८ गते बेलुका ७ बजेदेखि असोज ११ गते बिहान ५ बजेसम्म मेची राजमार्ग र मेची करिडोरमा रातको समयमा सवारी आवागमन बन्द गरिएको जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी बुलेटिनमा असोज ९ देखि ११ गतेसम्म देशभर भारी वर्षाको सम्भावना रहेको जनाइएपछि सुरक्षालाई ध्यानमा राखेर रातको समयमा दुवै सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए ।
“मेची राजमार्ग र मेची करिडोर अहिले पनि जोखिमपूर्ण र जीर्ण अवस्थामा सञ्चालन भइरहेका छन्”, प्रजिअ ढकालले भने, “भारी वर्षाको सम्भावना रहेकाले सुरक्षालाई ध्यानमा राखी रातको समयमा दुवै सडकमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।”
जिल्ला प्रशासन कार्यालयले रातको समयमा दुवै सडकसँगै अन्य भित्री सडकमा समेत सवारीसाधन सञ्चालन नगर्न तथा तोकिएको समय र व्यवस्थाको पालना गर्न आग्रह गरेको छ ।
अत्यावश्यक सेवाका लागि भने नजिकको सुरक्षा निकायसँग समन्वय गरी सवारीसाधन सञ्चालन गर्न प्रशासनले अनुरोध गरेको छ ।
मेची राजमार्ग झापादेखि पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर हुँदै ताप्लेजुङसम्म जोड्ने प्रमुख सडक हो । त्यस्तै, मेची करिडोर झापाको केचनादेखि ताप्लेजुङको कञ्चनजङ्घासम्म जोड्ने निर्माणाधीन मार्ग हो । हाल उक्त मार्गको इलाम खण्ड निर्माणाधीन अवस्थामा रहेको छ ।




