काठमाडौं । सम्भावित भारी वर्षासँगै बाढीपहिरोको जोखिम बढ्न सक्ने भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सवारी सञ्चालनमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
महासंघले बुधबार विज्ञप्ति जारी गर्दै असोज ८ देखि १२ गतेसम्म अत्यावश्यकबाहेक लामो दूरी तथा रातिको यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरेको हो ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानलाई आधार बनाउँदै महासंघले यात्रा गर्नुअघि सडक तथा मौसमको अवस्था अनिवार्य रूपमा बुझ्न आग्रह गरेको छ ।
महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा सार्वजनिक तथा मालवाहक सवारी सञ्चालन गर्दा स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गर्न यातायात व्यवसायी, चालक, परिचालक तथा बुकिङ कर्मचारीलाई आग्रह गरिएको छ ।
महासंघले जोखिमपूर्ण अवस्थामा सवारी सञ्चालन नगर्न तथा सम्भावित विपद्बाट जोगिन पूर्वसूचनालाई प्राथमिकताका साथ पालना गर्नसमेत आग्रह गरेको छ ।





