काठमाडौँ । बर्दियामा गुडिरहेको विद्युतीय सवारी साधन (ईभी) हाइसमा अचानक आगलागी भएको छ ।
कोहलपुरबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००२ ज ४३३ नम्बरको भाडाको फोटोन ईभी हाइसमा आइतबार बिहान आगलागी भएको हो ।
बर्दियाको बारबर्दिया नगरपालिका–७ रम्मापुरस्थित ५ नम्बर चोक नजिक महेन्द्र राजमार्गमा बिहान करिब ६ः५० बजे गुडिरहेको अवस्थामा हाइसमा अचानक आगो लागेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी रेशम बोहराका अनुसार आगलागीको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो ।
हाइसमा चालक र सहचालक मात्रै रहेकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । हाइस कैलालीको धनगढी उपमहानगरपालिका–३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाएका थिए ।
आगलागीबाट सवारीसाधनका कागजात र नगद ४२ हजार रुपैयाँ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरी टोली र ठाकुरबाबा नगरपालिकाको दमकलको सहयोगमा बिहान करिब ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।
आगलागीका कारण महेन्द्र राजमार्गमा सवारी आवागमनमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ।




