काठमाडौं । तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को खेलतालिका सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार साँझ सार्वजनिक गरेको खेलतालिकाअनुसार उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
उद्घाटन खेल अक्टोबर २६ अर्थात् कात्तिक १० गते साँझ ४ः३० बजे सुरु हुनेछ। प्रतियोगितामा केही दिन दुई तथा केही दिन एक खेल हुनेछन्। पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल साँझ ४ः३० बजे सुरु हुनेछन्।
प्रतियोगिताको एलिमिनेटर खेल नोभेम्बर १८, दोस्रो क्वालिफायर नोभेम्बर १९ तथा पहिलो क्वालिफायर नोभेम्बर १७ मा हुनेछ। एनपीएलको फाइनल खेल नोभेम्बर २१ मा हुनेछ।
प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।





