काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बलात्कारका दोषीलाई कठोरभन्दा कठोर सजाय हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले विद्यमान कानुनी व्यवस्थाले बलात्कारजस्ता जघन्य अपराधमा संलग्नलाई पर्याप्त दण्डित गर्न नसकेको र त्यसले समाजमा अपराधप्रति डर सिर्जना गर्न नसकेको बताइन्।
उनले बलात्कारका अभियुक्त तथा दोषीलाई सामान्य कैदीसरह जेलमा राख्ने व्यवस्थामाथि प्रश्न उठाउँदै अपराधको प्रकृति र गम्भीरताअनुसार सजायको व्यवस्था गर्नुपर्ने धारणा राखिन्।
“बलात्कारीलाई छुट्टै सजाय दिने कानुनमा के त्यस्तो व्यवस्था छ ? उही जेलमा जाने, ग्वामग्वाम मासुभात खाएर लामखुट्टे जस्तो सुकेको ज्यान भएको बलात्कारी अर्ना भैँसी जस्तो भएर निस्किनु बाहेक अरू ठूलो उपलब्धि मैले केही देखेको छैन,” उनले भनिन्।
बाराकी तीन वर्षीया गरिमा चौधरी र कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तजस्ता बालिकामाथि भएका घटनाको स्मरण गर्दै उनले अपराधको क्रूरता हेरेर कानुनमै परिवर्तन गर्नुपर्ने बताइन्।
उनले भनिन्, “अपराधीले गरेको क्रूरता हेरेर कानुनको व्यवस्थामा परिवर्तन नभएसम्म बाराकी तीन वर्षीया गरिमा चौधरी र कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तजस्ता नानीहरूको आत्माले न्याय र शान्ति पाउने छैन।”
सांसद तामाङले बलात्कारका दोषीलाई मृत्युदण्डसम्मको व्यवस्था गर्नुपर्ने माग गरिन्। त्यसो गर्न नसकिने अवस्थामा पनि दोषीलाई कडा तथा प्रभावकारी सजाय हुने वैकल्पिक कानुनी व्यवस्था गर्नुपर्ने उनको धारणा थियो।
उनले बलात्कारजस्ता जघन्य अपराध नियन्त्रणका लागि विद्यमान कानुन पुनरावलोकन गरी अपराधीमा कडा दण्डको भय सिर्जना हुने व्यवस्था तत्काल गर्न सरकारको ध्यानाकर्षण गराइन्।




