काठमाडौं। आज अर्थात् १२ अगस्ट २०२६ मा दुर्लभ खग्रास सूर्यग्रहण लाग्दैछ। ग्रहणको पूर्ण स्वरूप उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तर आन्ध्र महासागर हुँदै स्पेन र पोर्चुगलको केही भूभागबाट देखिनेछ।
नासाका अनुसार सन् १९९९ पछि मुख्य भूमि युरोपबाट देखिने यो पहिलो पूर्ण सूर्यग्रहण हो। पूर्ण ग्रहणको मार्गमा करिब १ करोड ५० लाख मानिस पर्ने अनुमान छ भने उत्तरी गोलार्धका विभिन्न स्थानबाट आंशिक ग्रहण करिब ९८ करोड मानिसले अवलोकन गर्न सक्नेछन्।
नेपालसहित दक्षिण एसिया र एसियाका अधिकांश भागबाट भने ग्रहण देखिने छैन। चन्द्रमाको पूर्ण छाया नेपालसम्म नआउने भएकाले यहाँबाट सूर्यग्रहण अवलोकन सम्भव नहुने भएकाे हो।
स्पेनका लियोन, जारागोजा र भ्यालेन्सियालगायतका स्थानमा पूर्ण ग्रहण देखिनेछ। अधिकांश स्थानमा पूर्णताको अवधि दुई मिनेटभन्दा कम रहनेछ।
ग्रहणलाई प्रत्यक्ष हेर्दा आँखामा गम्भीर क्षति हुन सक्ने भएकाले प्रमाणित सौर्य अवलोकन चस्मा वा सुरक्षित सौर्य फिल्टर प्रयोग गर्नुपर्ने विशेषज्ञहरूको सुझाव छ। नेपालबाट भने नासा तथा अन्य खगोलीय संस्थाका अनलाइन प्रत्यक्ष प्रसारणमार्फत ग्रहण हेर्न सकिनेछ।




