काठमाडौं । साकेला गाउँपालिकामा विकास निर्माणको विषय फेरि राजनीतिक बहसको केन्द्र बनेको छ। गाउँपालिकाका पूर्वअध्यक्ष झनकार खड्काले सामाजिक सञ्जालमार्फत विकासलाई राजनीतिक प्रतिस्पर्धाभन्दा माथि राख्नुपर्ने धारणा सार्वजनिक गरेसँगै स्थानीय तहको नेतृत्व र विकासको गति पुनः चर्चामा आएको हो।
तत्कालीन समयमा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएर गाउँपालिकाको नेतृत्व गरेका खड्काले आफ्नो कार्यकालमा सुरु गरिएका केही पूर्वाधार आयोजनाहरू हालसम्म पनि सम्पन्न हुन नसकेको संकेत गरेका छन्। उनले सामाजिक सञ्जालमा विकासको श्रेय लिने प्रतिस्पर्धाभन्दा नागरिकसँगको सहकार्य र समग्र समाजको समृद्धिलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेका छन्। खड्काले आफ्नो अभिव्यक्तिमा व्यक्तिगत प्रतिष्ठा र राजनीतिक महत्वाकांक्षाका लागि विकासका उपलब्धिलाई ओझेलमा पार्ने प्रवृत्तिले समाजलाई फाइदा नगर्ने बताएका छन्। विकास र समृद्धिलाई नै वास्तविक प्रतिस्पर्धाको आधार बनाउनुपर्ने उनको भनाइ छ।
स्थानीय बासिन्दामाझ पनि पूर्व नेतृत्व र वर्तमान नेतृत्वबीच विकासको तुलनाबारे चर्चा हुन थालेको छ। केही स्थानीयका अनुसार खड्काको कार्यकालमा सडक कालोपत्रे गर्ने योजनाअन्तर्गत ग्राभेल सडकमा पिलर गाड्ने कामसम्म सम्पन्न भएको भए पनि त्यसपछि निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन। उनीहरूका अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार तथा बजार व्यवस्थापनका क्षेत्रमा पनि तत्कालीन नेतृत्वले दीर्घकालीन योजना अघि सारेको थियो।
यही कारण आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै खड्काको नाम पुनः चर्चामा आउन थालेको स्थानीयहरू बताउँछन्। केही नागरिकले आगामी निर्वाचनमा पुनः उनलाई नेतृत्वमा ल्याउनुपर्ने धारणा व्यक्त गर्न थालेका छन्। यद्यपि, यसबारे कुनै औपचारिक राजनीतिक निर्णय वा उम्मेदवारी घोषणा भइसकेको छैन। स्वच्छ इमानदारी छवि गरेका खड्कालाई नै आगामी स्थानीय निर्वाचनमा विजय गराउन सके साकेलाले चाँडैँ विकासको मुहार पर्ने स्थानीयवासीन्दाहरु बताउँछन् ।
हाल गाउँपालिकाको नेतृत्व नेपाली कांग्रेसको हातमा छ। केही स्थानीयले वर्तमान नेतृत्वबाट अपेक्षाअनुसार विकासले गति लिन नसकेको गुनासो गरेका छन् भने यसबारे गाउँपालिका नेतृत्वको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।
साकेला गाउँपालिकामा विकासका उपलब्धि, अधुरा आयोजना र भावी नेतृत्वबारे सुरु भएको बहस आगामी स्थानीय निर्वाचन नजिकिँदै जाँदा अझ तीव्र हुने संकेत देखिएको छ। राजनीतिक दलहरूबीच प्रतिस्पर्धा बढे पनि स्थानीयवासी भने विकासका अधुरा काम सम्पन्न गर्ने नेतृत्वको खोजीमा रहेको देखिन्छ।




