काठमाडौं । लेखक तथा अनुसन्धानकर्ता रमेश रुछेन राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान गरिएको छ। मदन भण्डारी फाउण्डेशनले उनको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’ लाई यस वर्षको उत्कृष्ट कृतिका रूपमा छनोट गर्दै पुरस्कार प्रदान गरेको हो।
काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा राईलाई दुई लाख रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको फाउण्डेशनले जनाएको छ।
फाउण्डेशनले जननेता मदनकुमार भण्डारीको व्यक्तित्व, राजनीतिक विचार, योगदान तथा उहाँसँग सम्बन्धित अध्ययन–अनुसन्धान र प्रकाशनलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष यो राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसर पारेर यस वर्ष पनि अध्ययन, अनुसन्धान, संस्मरण लेखन तथा पुस्तक प्रकाशनमार्फत उनको जीवन र योगदानलाई दस्तावेजीकरण तथा प्रचार–प्रसारमा उल्लेखनीय योगदान पुर्याउने स्रष्टालाई सम्मान गरिएको हो।
फाउण्डेशनका अनुसार तीन सदस्यीय छनोट समितिको सिफारिसका आधारमा राईको कृति पुरस्कारका लागि छनोट गरिएको हो।
इलामको सूर्योदय नगरपालिका–११, केराबारी स्थायी घर भएका राई लामो समयदेखि नेपाली राजनीति, विकास तथा समसामयिक विषयमा स्वतन्त्र अध्येता र अनुसन्धानकर्ताका रूपमा सक्रिय रहँदै आएका छन्। उनको अनुसन्धानमूलक पुस्तकले मदन भण्डारीको जीवन, राजनीतिक यात्रा र वैचारिक योगदानलाई समेटेको फाउण्डेशनले जनाएको छ।




