कोशी प्रदेश

कोशीमा १० महिनामा बालविवाहसम्बन्धी ३८ उजुरी, मोरङमा सबैभन्दा बढी

झापा। कोशी प्रदेशमा चालु आर्थिक वर्षको पहिलो १० महिनामा बालविवाहसम्बन्धी ३८ वटा सूचना तथा उजुरी दर्ता भएका छन्।

हराएका बालबालिका खोजतलास समन्वय केन्द्रद्वारा सञ्चालित कोशी टोल फ्री हेल्पलाइन १०९८ मा आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाख मसान्तसम्म उक्त सङ्ख्यामा सूचना दर्ता भएको हो।

बालअधिकार तथा संरक्षणकर्मी सुमन अधिकारीका अनुसार प्रदेशका १४ जिल्लामध्ये चार जिल्लाबाट मात्रै बालविवाहसम्बन्धी सूचना प्राप्त भएका छन्।

दर्ता भएका सूचनामध्ये सबैभन्दा बढी मोरङबाट २४ वटा रहेका छन्। त्यसपछि सुनसरीबाट ११, इलामबाट दुई र उदयपुरबाट एक सूचना दर्ता भएको अधिकारीले जानकारी दिए।

हेल्पलाइन १०९८ वा प्रहरी हेल्पलाइन १०४ मा बालविवाह, बालहिंसा वा बालशोषणसम्बन्धी सूचना प्राप्त भएपछि सम्बन्धित बालबालिकाको संरक्षण, उद्धार तथा पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी आवश्यक सेवा प्रदान गर्ने गरिएको छ।

विसं २०७८ को राष्ट्रिय जनगणनाअनुसार कोशी प्रदेशमा नौ हजार ७१३ बालविवाहका घटना रहेका छन्। पछिल्ला वर्षहरूमा टोलस्तरमा गठन गरिएका बाल सञ्जाल तथा विद्यालयमा सञ्चालित बालक्लबहरूको सक्रियताले बालविवाह न्यूनीकरणमा सकारात्मक प्रभाव परेको संरक्षणकर्मी अधिकारीले बताए।

उनका अनुसार समुदायस्तरमा बढ्दो जनचेतना, बालअधिकारसम्बन्धी अभियान तथा स्थानीय तहको सक्रियताका कारण बालविवाह रोकथामका प्रयासहरू प्रभावकारी बन्दै गएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *