भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रलाई प्रदेशको आर्थिक समृद्धिको मेरुदण्डका रूपमा उल्लेख गर्दै उद्योगी–व्यवसायीलाई प्रोत्साहन गर्ने नीति ल्याइने बताएका छन् ।
भैरहवामा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको चौथो कार्यकारिणी समितिको पदस्थापन समारोहमा बोल्दै मुख्यमन्त्री आचार्यले नव–निर्वाचित पदाधिकारीलाई उद्योगी–व्यवसायीको अभिभावकको भूमिकामा रहेर काम गर्न आग्रह गरे ।
उनले निजी क्षेत्र प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधार भएको उल्लेख गर्दै उद्योगी–व्यवसायीको मनोबल उच्च बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
‘व्यवसायीको मनोबल उच्च बनाउन प्रदेश सरकार जिम्मेवारीबोधका साथ अघि बढिरहेको छ,’ उनले भने ।
मुख्यमन्त्री आचार्यले उद्योग क्षेत्रलाई भरोसाको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै व्यवसायीले भोगिरहेका समस्या समाधानका लागि प्रदेश सरकार सकारात्मक रहेको बताए ।
गत भदौ २४ गतेको आन्दोलनका क्रममा जलेका उद्योग, सरकारी कार्यालय तथा निजी घरप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै उनले प्रदेशभर ३९७ वटा संरचना क्षतिग्रस्त भएको जानकारी दिए ।
उनले देशभर विद्युत् लाइन काटिएका उद्योगमध्ये १३ वटा लुम्बिनी प्रदेशमा रहेको उल्लेख गर्दै उद्योग सञ्चालन सहज बनाउन प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरिरहेको बताए ।
मुख्यमन्त्री आचार्यले निजी क्षेत्रको सक्रिय योगदानबिना प्रदेशको विकास सम्भव नहुने भन्दै सरकार र निजी क्षेत्रबीच सहकार्य, समन्वय र विश्वासको वातावरण आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा महासंघका नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद शर्माले सरकार र निजी क्षेत्र साझेदारका रूपमा अघि बढ्नुपर्ने बताए ।
उनले नीति तथा कार्यक्रममा निजी क्षेत्रलाई साझेदारका रूपमा स्वीकार गरिए पनि व्यवहारमा अझै उत्साहजनक वातावरण बन्न नसकेको भन्दै आगामी बजेटमार्फत सम्बोधन गर्नुपर्ने बताए ।
उपाध्यक्ष शर्माले भन्सार व्यवस्थापन, विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्र, कृषि आधुनिकीकरण, युवा स्वरोजगार तथा नवप्रवर्तनका क्षेत्रमा प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए ।
उनले लुम्बिनी करिडोर तथा उद्योगसँग सम्बन्धित विषयमा प्रदेश सरकारले निजी क्षेत्रसँग समन्वय गर्नुपर्ने भन्दै उद्योग वाणिज्य संघमार्फत सीपमूलक कार्यक्रम र संस्थागत विकासका लागि बजेट व्यवस्था गर्न आग्रह गरे ।




