काठमाडौँ । विभिन्न राजनीतिक दलनिकट १५ विद्यार्थी संगठनले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीको विरोधमा देशव्यापी चरणबद्ध आन्दोलन घोषणा गरेका छन्।
शुक्रबार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरूले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।विद्यार्थी संगठनहरूले सरकारको निर्णयलाई नागरिक अधिकार, संविधान तथा लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको भन्दै उक्त तयारी तत्काल फिर्ता लिन माग गरेका छन्।
पहिलो चरणको आन्दोलनअन्तर्गत शनिबार नागरिक अगुवा तथा सरोकारवालासँग अन्तरक्रिया गरिनेछ। यस्तै, २९ चैतदेखि ४ वैशाखसम्म देशभर कलेजस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
घोषित कार्यक्रमअनुसार वैशाख ५ गते पूर्वविद्यार्थी नेता तथा सांसदहरूसँग संवाद, वैशाख ७ देखि १४ गतेसम्म देशव्यापी प्रचारप्रसार, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम, तथा वैशाख ११ गते विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।
यसैगरी वैशाख १२ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने र वैशाख १५ गते काठमाडौँ उपत्यकामा कापी–कलमसहित देशव्यापी प्रदर्शन गरिने घोषणा गरिएको छ।
सरकारले शासकीय सुधारका नाममा सार्वजनिक गरेको १०० कार्यसूचीभित्र विद्यार्थी संगठनमाथि नियन्त्रण वा प्रतिबन्ध लगाउने विषय उल्लेख गरेपछि संयुक्त विद्यार्थी मोर्चाले आन्दोलनको बाटो रोजेको हो।




