काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा लामो समयदेखि रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी अब नेपाली कांग्रेसका शिवराज भट्टले सम्हाल्ने भएका छन्।
मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार भट्टलाई मन्त्री पदमा नियुक्त गरेका हुन्। नियुक्तिसँगै उनलाई आजै साँझ ५ बजे पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको प्रदेश सरकार स्रोतले जनाएको छ।
भट्ट यसअघि प्रदेश सरकारमा आन्तरिक तथा मामिला मन्त्रीको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन्। उनको पुनः मन्त्रिपरिषद् प्रवेशलाई कांग्रेसभित्र सन्तुलन मिलाउने र सरकारको कार्यसम्पादनलाई गति दिने प्रयासका रूपमा हेरिएको छ।
यो मन्त्रालय गत असारदेखि रिक्त रहँदै आएको थियो। तत्कालीन मन्त्री रामेश्वर चौधरी आर्थिक विवादमा तानिएपछि मुख्यमन्त्री शाहले उनलाई पदमुक्त गरेका थिए। त्यसयता उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले आफैं राख्दै आएका थिए।
लामो समयपछि मन्त्रालयले पूर्णकालीन नेतृत्व पाएको अवस्थामा अब वन, पर्यटन र वातावरणसँग जोडिएका रोकिएका नीतिगत तथा विकासात्मक कामले गति लिने अपेक्षा गरिएको छ।




