देश

खोटाङमा अस्पताल भवन अलपत्र पारेको भन्दै ठेकेदारको गाडी नगरपालिकाको नियन्त्रणमा

काठमाडौ । निर्माण कार्य लामो समयदेखि रोकिँदा स्थानीय सरकार आक्रामक बनेको छ। हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पताल भवन अलपत्र पारेको भन्दै ठेकेदार पक्षमाथि कारबाही स्वरूप सवारी साधन नियन्त्रणमा लिएको छ। नगरपालिका–७ महादेवस्थानमा निर्माणाधीन १५ शय्याको अस्पताल भवन निर्धारित समयमै सम्पन्न हुन नसकेपछि यस्तो कदम चालिएको हो। हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईका अनुसार ठेकेदार कम्पनी नमुना–हिमालयन जेभीका प्रतिनिधिको बागमती प्रदेश नम्बरको गाडी, चाबी र कागजातसमेत नियन्त्रणमा राखिएको छ।

२०७८ साउन ८ गते सम्झौता भई २०८० साउनसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त परियोजना दुई वर्ष नाघ्दा पनि जगभन्दा माथि उठ्न नसकेको अवस्थामा पुगेको छ। बारम्बार निर्देशन र चेतावनी दिँदा पनि काम अघि नबढेपछि नगरपालिका बाध्य भएर कठोर निर्णयमा पुगेको बताइएको छ। नगरपालिकाले अब निश्चित समयसीमाभित्र काम अघि बढाउने लिखित प्रतिबद्धता समेत गराएको छ। चैत १२ गतेदेखि निर्माण पुनः सुरु गरी ४५ दिनभित्र बेसमेन्ट ढलान, त्यसपछि क्रमशः पहिलो र दोस्रो तल्लाको काम सम्पन्न गर्ने सर्त राखिएको छ। तोकिएको समयभित्र काम नगरे कानुनी कारबाही व्यहोर्नुपर्ने उल्लेख गरिएको छ।

ढिलासुस्तीका कारण स्थानीय स्वास्थ्य सेवामा प्रत्यक्ष असर परेको भन्दै जनस्तरबाट समेत असन्तुष्टि बढ्दै गएको छ। प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सरकारी योजनाअन्तर्गत सुरु भएको यो परियोजना समयमै पूरा नहुँदा सेवा विस्तार प्रभावित बनेको हो। नगरपालिकाले यस विषयमा जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराइसकेको जनाएको छ।

खोटाङ :अलपत्र आधारभूत अस्पतालको भवन पुनः सुचारु गर्न लिखित प्रतिबद्धतापत्रमा हस्ताक्षर

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *