देश

प्रधानमन्त्रीका लागि बालेन नै आधिकारिक उम्मेदवार :रास्वपा सांसद पाण्डे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसद राजु पाण्डेले पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह नै भएको स्पष्ट पारेका छन्। उनले प्रधानमन्त्रीबारे बाहिर फैलाइएका विभिन्न हल्ला निराधार भएको दाबी गर्दै त्यसमा विश्वास नगर्न आग्रह गरेका हुन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले पार्टीले तय गरेको निर्णयमा कसैले पनि फरक धारणा सार्वजनिक गर्ने छुट नरहेको बताए। उनका अनुसार रास्वपाले आधिकारिक रूपमा जे निर्णय गर्छ, त्यही अनुसार पार्टी अघि बढ्नेछ।

बालेन्द्र शाहलाई प्रधानमन्त्री बन्न नदिने भित्री खेल भइरहेको भन्ने चर्चा पनि उनले अस्वीकार गरे। “यस्ता हल्ला हावादारी र खुरापाती मात्रै हुन्,” उनले भने, “रास्वपा आफ्नो निर्णयमा स्पष्ट छ, त्यसमा कुनै द्विविधा छैन।” पाण्डेले देशको वर्तमान अवस्था सुधार्न राजनीतिक नेतृत्वसँगै प्रशासनिक संयन्त्रमा पनि परिवर्तन आवश्यक रहेको बताए। उनका अनुसार केवल राजनीतिक दल र नेताहरूलाई दोष दिएर मात्र समस्या समाधान नहुने भएकाले कर्मचारीतन्त्रको कार्यशैलीमा सुधार अनिवार्य छ।

भ्रष्टाचारविरुद्ध रास्वपा कडा रूपमा प्रस्तुत हुने उनले बताए। “भ्रष्टाचारमा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइनेछ,” पाण्डेले भने, “सरकारी कार्यालयमा पुग्दा सामान्य नागरिकले पनि सुशासनको अनुभूति गर्न पाउनुपर्छ।”उनले सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै रास्वपा देशको प्रशासनिक र राजनीतिक संरचनामा सुधार ल्याउन प्रतिबद्ध रहेको पनि उल्लेख गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *