काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनको परिणामपछि जनतामा समर्थन भए पनि मतमा त्यसको प्रतिबिम्ब देखिन नसकेको निष्कर्ष निकालेको छ। घिसिङले सामाजिक सञ्जालमार्फत् निर्वाचित सांसदहरूलाई बधाई दिँदै अब पार्टीले सडकबाट रचनात्मक रूपमा खबरदारी गर्ने बताएका हुन्।
काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका घिसिङ राजुनाथ पाण्डेसँग पराजित भएका थिए। पराजयपछि प्रतिक्रिया दिँदै उनले निर्वाचन परिणामबाट निराश नभई पार्टीलाई थप सशक्त बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
घिसिङले सरकारका सकारात्मक कामलाई समर्थन गर्ने तर गलत निर्णय भए सडकबाट दबाब सिर्जना गर्दै खबरदारी गर्ने बताएका छन्। “चुनावको परिणामले निराश बनाउनु हुँदैन, उज्यालो नेपाल निर्माणको अभियानलाई अझ बलियो बनाएर अघि बढ्छौँ,” उनले उल्लेख गरेका छन्।
पूर्वमन्त्रीसमेत रहेका घिसिङले विजयी भएका नेताहरूलाई मतदातासँग गरेका प्रतिबद्धता व्यवहारमा उतार्न पनि आग्रह गरेका छन्। उनका अनुसार देशलाई केवल नाराले होइन, स्पष्ट दृष्टिकोण, योजना र कार्यान्वयन गर्न सक्ने नेतृत्व आवश्यक छ।
यसपटक उज्यालो नेपाल पार्टीले ३० भन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो। तर प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेन। समानुपातिक मतगणनामा भने पार्टीको बाँसुरी चुनाव चिन्हमा हालसम्म करिब १ लाख ६६ हजार ४ सयभन्दा बढी मत प्राप्त भएको छ।




