काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईं सोमबार उच्च अदालत पाटनमा उपस्थित भएका छन्। बैंकिङ कसुरसम्बन्धी मुद्दाको सुनुवाइका लागि उनी बिहान करिब सवा १० बजे अदालत पुगेका थिए।
अदालतमा संक्षिप्त समय बसेपछि प्रसाईं करिब साढे १० बजेतिर बाहिरिएका थिए। उक्त मुद्दा न्यायाधीश टंकप्रसाद गुरुङ र स्वीकृति पराजुलीको संयुक्त इजलासमा पेशीका लागि तोकिएको बताइएको छ।
प्रसाईंविरुद्ध ‘राउन्ड ट्रिपिङ’ र ‘लेयरिङ’ विधिबाट कर्जा दुरुपयोग गरेको आरोप छ। यससम्बन्धी उजुरीका आधारमा नेपाल राष्ट्र बैंकको सिफारिसमा सरकारले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ विपरीत कार्य गरेको आरोपसहित गत साउनमा १८ करोड ४४ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।
यसअघि न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको संयुक्त इजलासले उनलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सोही मुद्दाको सुनुवाइका लागि अहिले पुनः पेशी तोकिएको हो।
धरौटी बुझाएर रिहा भएपछि पनि प्रसाईं विभिन्न आपराधिक उपद्रव र सार्वजनिक शान्तिविरुद्धका आरोपमा पटक–पटक पक्राउ परेर छुट्दै आएका छन्। पछिल्लोपटक उनी फागुन १७ गते पक्राउ परेका थिए भने फागुन २२ गते रिहा भएका थिए।
अदालतमा हाजिर भएपछि प्रसाईं झापा जाने तयारीमा रहेको स्रोतले जनाएको छ।




