काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा यसको असर नेपालमा पनि देखिन थालेको छ। अमेरिका–इजरायल गठबन्धन र इरानबीचको द्वन्द्वका कारण केही मध्यपूर्वी देशहरूले आफ्नो आकाश क्षेत्र बन्द गरेपछि विभिन्न एयरलाइन्सका उडान रोकिएका छन्।
उक्त अवस्थाले नेपालबाट मध्यपूर्व हुँदै अन्य देश जाने यात्रु तथा त्यहाँबाट फर्किने यात्रुहरू समस्यामा परेका छन्। ट्रान्जिटमार्फत यात्रा गर्ने धेरै नेपाली यात्रु र वैदेशिक रोजगारीका लागि जाने कामदारहरू प्रभावित भएका छन्।
यसअघि टिकट काटिसकेका यात्रुहरू उडानको अवस्था बुझ्न तथा रद्द भएका उडानको विकल्प खोज्न काठमाडौंस्थित एयरलाइन्स कार्यालयमा पुग्ने क्रम बढेको छ। कतिपय यात्रु भने उडान स्थगित भएपछि टिकट रकम फिर्ता वा मिति परिवर्तनका विषयमा जानकारी लिन कार्यालय धाइरहेका छन्।
यात्रुहरूको सोधपुछ बढेपछि एयरलाइन्सका सम्पर्क कार्यालयहरूमा दिनहुँ भीड लाग्ने गरेको छ। बढ्दो चापलाई ध्यानमा राख्दै कतिपय एयरलाइन्सले यात्रुहरूलाई आवश्यक जानकारी दिन कार्यालयमा सूचना टाँस्ने तथा अन्य माध्यमबाट जानकारी उपलब्ध गराउने प्रयास गरिरहेका छन्।




