काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका पाँच पूर्वअर्थमन्त्रीमध्ये केवल एक जनाले मात्र जीत हासिल गरेका छन्। चार पूर्वअर्थमन्त्री पराजित हुँदा वर्षमान पुन भने पुनः निर्वाचित भएका हुन्।
रोल्पाबाट उम्मेदवार बनेका वर्षमान पुन २७ हजार ४६० मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुदनकुमार वलीले १२ हजार ८ मत प्राप्त गरे। पुन यसअघि पनि दुई पटक अर्थमन्त्री भइसकेका छन्।
यसपटक भने अन्य चार पूर्वअर्थमन्त्रीलाई मतदाताले समर्थन दिएनन्। नेकपा एमालेका विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाट पराजित भए। राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेलले ५६ हजार ५५० मत ल्याउँदा पौडेल १२ हजार ८६१ मतमा सीमित भए।
दुई पटक अर्थमन्त्री भइसकेका जनार्दन शर्मा रुकुम पश्चिमबाट पराजित भए। प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका उनी तेस्रो स्थानमा सीमित भए। उक्त क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्माले २१ हजार ६०९ मत ल्याएर विजयी हुँदा जनार्दनले १४ हजार ३४६ मत प्राप्त गरे।
नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा। प्रकाशशरण महत पनि नुवाकोट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम तिमिल्सिनासँग पराजित भए। तिमिल्सिनाले २२ हजार ६०९ मत प्राप्त गर्दा महत १८ हजार ५९७ मतमा रोकिए।
त्यस्तै, कांग्रेसकै अर्का पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका दीपककुमार साहसँग पराजित भए। उक्त क्षेत्रमा साहले ४२ हजार ७७१ मत ल्याउँदा कार्कीले १६ हजार ५८७ मत मात्र प्राप्त गरे।
यसपटकको निर्वाचन परिणामले पूर्वअर्थमन्त्रीहरूलाई मतदाताले अपेक्षित समर्थन नदिएको देखिएको छ।




